• १३ असार २०८१, बिहिबार

अमेरिकी सेनाद्वारा यमनको रेड सीमा छवटा हुथी ड्रोन नष्ट

blog

वासिङ्टन, असार ७ गते । अमेरिकी सेनाले बिहीबार यमनको लालसागरमा चारवटा हुथी नटिकल ड्रोन र दुईवटा हवाई ड्रोन नष्ट गरेको बताएको छ । इरान समर्थित हुथीहरूले नोभेम्बरदेखि रेड सी र एडनको खाडीमा कार्गो ढुवानी गर्ने जहाजहरूमा ड्रोन र क्षेप्यास्त्रले आक्रमण गर्दै आइरहेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतलगायत सहयोगीले महत्त्वपूर्ण जलमार्गमा ढुवानीको रक्षा गर्न र हुथी आक्रमणविरुद्ध सेना परिचालनलाई बढाएका छन् ।

‘युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले बिहीबार राति एक विज्ञप्तिमार्फत सेनाले विगत २४ घण्टामा रेड सीमा चार इरानी ड्रोन र रेड सीमा दुई मानवरहित हवाई प्रणाली (युएएस) नष्ट गरेको बताएको छ । 

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले एक विज्ञप्तिमार्फत हुथी आक्रमणको निन्दा गर्दै वासिङ्टनले आवागमन र व्यावसायिक ढुवानीको स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम जारी राख्ने’ बताउनुभयो ।

उहाँले हुथीलाई यस महिनाको सुरुमा हिरासतमा लिएका संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक र गैर–सरकारी सङ्गठनका कर्मचारीसहित सबै बन्दीलाई रिहा गर्न पनि आह्वान गर्नुभएको छ ।

यस महिनाको सुरुमा हुथी लडाकूले अमेरिकी–इजरायली जासुसी सञ्जालको हिस्सा भएको दाबी गर्दै धेरै व्यक्तिलाई पक्राउ गरेका थिए । पक्राउ पर्ने अधिकांश अन्तर्राष्ट्रिय सङ्गठनहरू र संयुक्त राष्ट्रसङ्घीय निकायमा काम गर्ने कर्मचारी रहेका थिए । 

संयुक्त राष्ट्रसङ्घका छ वटा निकाय र तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखले हुथी समक्ष आफ्ना कर्मचारीको रिहाइका लागि संयुक्त आह्वान जारी गरेका थिए ।

गाजापट्टीमा इजरायल–हमास युद्धको समयमा प्यालेस्टिनीको समर्थनमा रहेको भन्दै हुथी लडाकू समूहले यस्ता आक्रमणलाई वर्णन गर्दै आएका छन् ।

हुथी लामो समयदेखि चलिरहेको गृहयुद्धमा संलग्न छन् जसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एक सङ्कट निम्त्याएको छ । रासस/एएफपी