इमान सिं राना
रामपुर (पाल्पा), असार ७ गते । जिल्लाको रामपुर नगरपालिकाले ७३ करोड ८५ लाख चार हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।
नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८१/०८२ का लागि चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख चार हजार विनियोजन गरिएको जानकारी दिनुभयो । विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ तीन करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र दुई करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको बताउनुभयो ।
नगरपालिकाले आयतर्फ सङ्घीय समानीकरण अनुदान १२ करोड ६ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड ६ लाख, सङ्घीय समपूरक पुँजीगत एक करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख चार हजार, सङ्घीय सशर्त पुँजीगत एक करोड २० लाख, प्रदेश समानीकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँट ८१ लाख ४० हजार, प्रदेश समपूरक एक करोड पाँच लाख, प्रदेश सशर्त एक करोड र आन्तरिक स्रोतबाट नौ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरेको छ ।
विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धि र रोजगार सृजनालाई प्राथमिकतामा राख्दै योजना अघि सारेको छ । नगर सभामा नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । उहाँले पूर्वाधार विकासका योजनालाई निरन्तरता दिँदै यस वर्ष उत्पादन वृद्धि र रोजगार सृजनाका योजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ विजनमा आत्मनिर्भर गराउन बीजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तर गर्दै व्यावसायीकरण गर्ने, व्यावसायिक कृषि तथा पशुपन्छी फर्म विस्तारका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, स्थानीय वस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार सञ्चालन गर्ने, निस्दीखोलालगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको छ ।
विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सीपको विवरण समेत अद्यावधिक गरी स्थानीय तहमा रहेका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि राम कथासँग सम्बन्धित क्षेत्र, मठमन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरी रामायण सर्किटको विकास गर्ने, कालीगण्डकी किनारमा पैदल मार्ग निर्माणलाई निरन्तरता दिने, होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ र छिमेकी स्थानीय तह संग सहकार्य गरी यस वर्ष पर्यटन महोत्सव सञ्चालन गर्ने नीति लिएको छ ।
सभामा विद्यायन समितिका संयोजक मीनबहादुर सिंजालीले स्थानीय युवा परिषद् विधेयक प्रस्तुत गर्नुभएको थियो । साथै लेखा समितिका संयोजक तेज बहादुर राना, विद्यायन समितिका संयोजक मीनबहादुर सिंजाली, अनुगमन तथा सुशासन समितिका संयोजक मोहनबहादुर रानाले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । नगर सभामा पेश प्रस्तुत भएको नीति तथा कार्यक्रम, विधेयक र प्रतिवेदनहरु सर्वसम्मत रुपमा पास गरेको छ । सभामा रामपुर नगरपालिकाको लोगो समेत सार्वजनिक गरिएको छ । नगरको भूगोल, मुख्य पर्यटकिय एवम् ऐतिहासिक स्थललाई समेटेर तयार गरिएको लोगो सार्वजनिक गरिएको हो ।
सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विधेयकमाथि थप छलफलका लागि नगर सभाको दोस्रो बैठक आगामी असार २० गते आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।
गोरखापत्रकर्मीसहित नौ जना सम्मानित
नगर सभाको अवसरमा रामपुर नगरपालिकाले गोरखापत्रकर्मीसहित उत्कृष्ट कर्मचारी, करदाता, टोल विकास संस्थाहरुलाई सम्मान गरेको छ । गोरखापत्रका रामपुर समाचारदाता इमानसिं रानासहित नौ जनालाई नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार ताराबहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दीपक आचार्य, उत्कृष्ट टोल विकास संस्था पन्थे बरादी गैराटोल विकास संस्थालाई नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।