• १२ साउन २०८१, शनिबार

सङ्क्रामक अस्पतालमा फोहोर विसर्जन मेसिन जडान

blog

सन्तोष सुवेदी

कास्की, असार ६ गते । पोखरा ३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेसिन जडान गरिएको छ । अस्पतालको फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकारको करिब एक करोड ३७ लाख लागतमा गण्डकी प्रदेशमै पहिलो पटक सो अस्पतालमा यस्तो मेसिन जडान गरिएको हो ।

अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका कीटाणुलाई पूर्ण रूपमा निर्मलीकरण गरेर कम तौल र सानो साइजमा निकाल्ने सक्ने क्षमता मेसिनको रहेको छ। यसलाई खेतबारी बाहेक अन्य ठाउँमा पुन मलकै रूपमा प्रयोग गर्न मिल्छ ।

यसैबिच, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले मसिनको शुभारम्भ गर्नुभएको हो । उहाँले स्वास्थ्यको पहुँच सबै जनताले पाउनु पर्छ भन्ने मान्यताले सङ्घीय सरकारदेखि प्रदेश सरकारमा आफूले जोडदारका साथ माग राखेको बताउनुभयो । रकम अभावमा कुनै पनि जनताले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मान्यताले सो हस्पिटलबाट स्वास्थ्य बिमाको सुविधा, डाइलसिस सेवा र आगामी दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा फुलफेज्डको अस्पताल सञ्चालन गर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले स्वास्थ्य क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले यसको सदुपयोग गरी प्रदेशकै नमुना हस्पिटल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले अस्पतालले छोटो समयमा ५० बेडको हस्पिटल तयार पारी २४ सै घण्टा सेवा दिँदै आएको र आगामी दिनमा विशेषगरी मुटुरोगीलाई केन्द्रित डायलिसिस सेवा प्रभावकारी बनाउने बताउनुभयो ।