• १३ असार २०८१, बिहिबार

पत्रकार उपाध्यायसहित समाजसेवीलाई नागरिक अभिनन्दन

blog

डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयद्वारा सम्मानित हुँदै पत्रकार उपाध्याय ।

गोरखापत्र अनलाइन

डोटी, असार ५ गते । डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।

सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासँगै औद्योगिक विकास तथा रोजगारी सिर्जनामा उत्कृष्ट योगदान दिए बापत वरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सापकोटा र उहाँका दाइ वसन्त सापकोटा (अमेरिका) लाई संयुक्त रूपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यमिक विद्यालयका अध्यक्ष धनबहादुर सिंह, प्रधान अध्यापक खड्कबहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

“पत्रकारिता र समाजसेवाका माध्यमबाट तपाईँले आफ्नो पुर्ख्यौली थलो डोटीको सायल गाउँपालिका र सुदूरपश्चिम प्रदेशको नाम देश विदेशमा चिनाउनुभएकोमा हामी गौरवान्वित भएका छौँ”, सायल गाउँपालिकाद्वारा पत्रकार उपाध्यायलाई प्रदान गरिएको अभिनन्दनपत्रमा भनिएको छ, “पत्रकारिता र सामाजिक क्षेत्रमा तपाईँले गर्नुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गर्दछौ ।”

सुदूरपश्चिमको औद्योगिक विकास र रोजगारीका अवसरहरू सृजनासंगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्षेत्रमा निरन्तर रूपमा गर्नु भएको सहयोगको उच्च प्रशंसा गर्दै अग्रवाललाई प्रदान गरिएको अभिनन्दनपत्रमा भनिएको छ, “डोटीको सायल गाउँपालिका –२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीको पोसाकको सिलाई खर्च सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्दछौँ । त्यसका साथै सुदूरपश्चिममा आर्थिक अभावमा उपचारबाट वञ्चित व्यक्तिहरूको उपचार, दिन दुःखीको सेवा, शिक्षा, स्वास्थ्य खानेपानी र धार्मिक क्षेत्रमा तपाईँले गर्नुभएको अतुलनीय सहयोगको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गर्दछौँ ।”

त्यस्तै, उपचारबाट वञ्चित व्यक्तिहरूको उपचारका लागि सहयोगको उच्च प्रशंसा गर्दै सापकोटा दाजुभाइलाई पनि अभिनन्दन गरिएको छ । विद्यालयको गुणस्तर वृद्धि तथा पठ्न पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीको पोसाक, झोला, छात्रवृत्ति र पुस्तकालय स्थापनाका लागि पत्रकार उपाध्यायद्वारा थालिएको अभियानमा वरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गर्दै आउनुभएको छ । 

त्यस्तै, एलआरआई काठमाडौँका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी, सुधा ब्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, वाल्मीकि ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमरबहादुर शाही ( काठमाडौँ ), हिक्मत थापा (नाईजेरिया), खेमराज उपाध्याय (धनगढी) र तीर्थराज जोशी (काठमाडौँ) लाई कदरपत्रसहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको छ ।

विद्यार्थीलाई छात्रवृत्ति प्रदान

डोटीको सायल गाउँपालिका –२ स्थित भवानी माध्यमिक विद्यालयका पाँचसय विद्यार्थीलाई बुधवार विद्यालय पोसाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार उपाध्यायको अगुवाइमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोसाक, झोला र छात्रवृत्ति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करिब दुईसय पुस्तक समेत प्रदान गरिएको छ ।

सङ्गम पब्लिकेसन्स काठमाडौँका प्रबन्ध निर्देशक सहदेवप्रसाद (एसपी) सापकोटाले विद्यार्थीको पोसाकको कपडा र सुदूरपश्चिमका उद्योगपति तथा समाजसेवी ओमप्रकाश अग्रवालले पोसाक सिलाइको खर्च बेहोर्नुभयो । 

त्यस्तै, विद्यार्थीको पोसाक खरिदमा एलआरआई काठमाडौँका संस्थापक पन्तले एक लाख रुपियाँ र समाजसेवी मधु पाठकले ५० हजार रुपियाँ प्रदान गर्नुभयो ।  

चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत जोशीले सय थान झोला प्रदान गर्नुभयो । सुधा ब्याग हाउस धनगढीका सञ्चालक सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गर्नुभएको हो । 

विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित वाल्मीकि इन्टरनेसनलका तर्फबाट अध्यक्ष दिनेशराज भण्डारीले सय थान पुस्तक प्रदान गर्नुभयो । यसैगरी प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझालगायतले पुस्तक प्रदान गर्नुभयो । 


सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोसाक र झोला समेत नभएर पठन पाठनमा कठिनाइ झेलिरहेका विद्यार्थीलाई पोसाक, झोलासँगै छात्रवृत्ति प्रदान गरिएकोमा आभार व्यक्त गर्नुभयो । सहयोगले विद्यालय भर्ना हुने दर वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोसाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसकेका विद्यार्थीलाई पठ्न पाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक, झोला, पुस्तकालय र छात्रवृत्ति प्रदान गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । 

जोशीद्वारा आर्थिक सहयोग 

नेपाली कांग्रेसका महासमिति सदस्य पदमराज जोशीले डोटीको सायल गाउँपालिका –२ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एकसय ११ रुपियाँ सहयोग गर्नुभयो । 

बुधबार विद्यालयमा आयोजित एक समारोहमा जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सिंह र प्रधानाध्यापक खड्कबहादुर सिंहलाई सो सहयोग हस्तान्तरण गर्नुभयो । नेता जोशीले विद्यालयको पठनपाठन र गुणस्तरीय शिक्षामा योगदान गर्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।