• १३ असार २०८१, बिहिबार

पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या

blog

मामाङ्खेमा बाढीपहिरोले क्षति गरेको खानेपानीको पाइप।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ५ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका बासिन्दाले यतिबेला खानेपानीको समस्या खेप्नुपरेको छ। अविरल वर्षापछि गएको पहिरोले खानेपानीको पाइपसहितका संरचनामा क्षति गरेपछि मामाङ्खेवासीले खानेपानीको समस्या खेप्नुपरेको हो। 

ताप्लेजुङमा गत जेठ २७ देखि निरन्तर वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण गत शुक्रबार राति गएको बाढीपहिरोले मुहान् तथा पाइपसहित खानेपानीको संरचना बगाउँदा मामाङ्खेमा अहिले खानेपानीको हाहाकार भएको छ। स्थानीय कैलास माबोका अनुसार पहिरोले खानेपानीको संरचनामा क्षति पुर्‍याउँदा करिब तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको छ।

बाढीपहिरोले खानेपानीको मुहान्, पाइप, ट्याङ्कीसहितका संरचनामा नराम्ररी क्षति गरेको माबोले बताउनुभयो। मामाङ्खे गाउँको विभिन्न टोलमा गएको पहिरोले बस्ती नै जोखिममा पारेको छ भने पहिरोबाट प्रभावित परिवारले खानेपानीको चरम अभाव खेप्नुपरिरहेको माबोको भनाइ छ। 

उहाँका अनुसार पहिरोले खानेपानीको पाइपसहित संरचनामा क्षति पुगेपछि बस्ती बिचमा रहेका सीमित पानीको स्रोतसँगै अशुद्ध पानीको उपभोग गर्न मामाङ्खेवासी बाध्य छन्। 

यता पानी पर्ने क्रम निरान्तर रहेकाले तत्काल स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउनलाई पनि सम्भव नभएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताउनुभयो। सोही वडा निवासी उपाध्यक्ष माबोले वैकल्पिक खानेपानीको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा पहल भइरहेको बताउनुभयो।

बाढीपहिरोले खानेपानी योजनामा धेरै नै क्षति गरेकाले पुनः मर्मत तथा निर्माणका लागि ठूलो बजेटको आवश्यक पर्ने देखिएको कैलाश माबोले बताउनुभयो। पाइप टाँगेरै भए पनि मामाङ्खेवासीको तत्कालको खानेपानी समस्या टार्नका पहल भइरहेको उहाँले बताउनुभयो। सहयोगी मनहरुको सहयोगबाट केही पाइप जुटाइसकिएको पनि उहाँले जानकारी दिनुभयो। बाढीपहिरोका कारण गएको शुक्रबारयता मामाङ्खेमा डेढ दर्जन बढी परिवार विस्थापित भएका छन्।