• ७ कात्तिक २०८१, बुधबार

मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गरिने

blog

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकको निर्णयको बारेमा जानकारी गराउनुहुँदै आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, जेठ ३२ गते । बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । प्रादेशिक अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय विवादमा परेपछि प्रदेश सरकारले मकवानपुर जिल्लामा अर्को प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । 

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्न अध्ययनका लागि नीतिगत सहमति दिने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मकवानपुरका प्रदेश अस्पताल स्थापनाका लागि अध्ययनका लागि कार्यदल गठन गर्न प्रदेशको स्वास्थ्य मन्त्रालयलाई नीतिगत सहमति दिने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले हेटौँडा अस्पताललाई ऐनमा भएको व्यवस्थाअनुसार प्रतिष्ठानमा गाभेसँगै मकवानपुरमा प्रदेश अस्पताल नरहने भएकाले प्रदेश अस्पताल स्थापनाका लागि अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनका आधारमा बकैया, मनहरी वा अन्यत्र प्रदेश अस्पताल स्थापना प्रक्रिया अगाडि बढाइने बताउनुभयो । 

हेटौँडा अस्पताललाई व्यक्ति सरहको प्रतिष्ठानमा गाभ्ने प्रक्रिया अगाडि बढाएको भन्दै मकवानपुरका राजनीतिक दलहरु र हेटौँडा अस्पतालले विरोध गर्दै आएका छन् । मन्त्रीपरिषद् बैठकले प्रदेशको दोस्रो आवधिक योजना २०८१–८२ र २०८५–८६, प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधी उत्पादन संहिता र आयुर्वेद औषधीको लेबल डिजाइनको स्वीकृत गर्ने गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।