• ७ कात्तिक २०८१, बुधबार

पाउद्वार तातोपानी सार्वजनिक-निजी साझेदारी मोडेलमा सञ्चालनको प्रस्ताव

blog

कुण्डमा स्नान गर्दै पर्यटकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ ३२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको प्राकृतिक पाउद्वार  तातोपानी कुण्डलाई सार्वजनिक–निजि साझेदारी अवधारणा अनुसार सञ्चालनको प्रस्ताव गरिएको छ । 

तातोपानी कुण्डलाई व्ववस्थित बनाउन डिजाइन, निर्माण, सञ्चालन र हस्तान्तरण गर्ने विधिमार्फत सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्नका लागि गाउँपालिकाले प्रस्ताव आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । 

कार्यपालिकाको वैठकको निर्णय अनुसार पाउद्वार  तातोपानी कुण्डलाई निजि साझेदारी अवधारणामा सञ्चालन गर्नका लागि एक महिनाको समय तोकेर मनशायपत्र आह्वान गरिएको उहाँले बताउनभुयो । कुण्ड सञ्चालन र पूर्वाधार निर्माणका साथै कुण्डले जीविकोपार्जन, पर्यटन र स्वास्थ्यका वारेमा पार्ने सामाजिक प्रभावको वारेमा अध्ययन अनुसन्धान पनि गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘प्राकृतिक तातोपानी कुण्डलाई थप व्यवस्थित रुपमा सञ्चालनका लागि गाउँपालिकाको सार्वजनिक–निजी साझेदारी सम्बन्धी न, २०७६ को दफा १७ बमोजिम मनाशय पत्र आह्वान गरेका छौं ।’’

आगामी आर्थिक वर्ष न्यूनतम २२ लाख भाडा नघट्ने गरी ५ वर्षसम्म प्रति वर्ष १० प्रतिशतका दरले भाडा बढ्ने र ५ देखि २० वर्षसम्म प्रतिवर्ष १५ प्रतिशतका दरले वृद्धि हुने निर्णय गाउँपालिकाले गरेको छ । कुण्डमा एक सय जना क्षमताको आवास, भवन, शौचालय, स्नानगृह, सुविधाजनक चमेनागृह, विद्युत्, इन्टरनेट, खानेपानी, कुण्ड लगायतका संरचना कुण्ड भाडामा लिने पक्षले तयार पार्नुपर्ने र सम्झौता अवधि सकिएपछि गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने शर्त राखिएको छ । 

पछिल्ला केही वर्ष यता पाउद्वार  तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले तातोपानी कुण्डलाई प्राकृतिक उपचार स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष पहिला पूर्वाधार निर्माण गरेर केही व्यवस्थित बनाएको थियो । अहिले बिरामीले शरीर डुबाएर स्नान गर्न मिल्ने गरी तीनवटा पोखरी निर्माण गरिएको छ । पिउने पानीका लागि धाराहरु र शौचालयको निर्माण गरिएको छ । स्नान गर्ने पोखरीमा ट्रस राखिएको छ । कुण्डमा स्नान गर्न म्याग्दीका साथै मुस्ताङ, पर्वत, बागलुङ, पोखरा र काठमाडौं लगायतका जिल्लाबाट आउने विरामीहरु स्नान गर्न आउने गरेका छन् । 

चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, चिसोका कारण लागेको रोग, गानोगोला लगायत समस्या भएका बिरामीका उपचारका लागि कुण्डमा स्नान गर्न आउने र एक हप्तामा निको भएर फर्किने गरेका छन् । यहाँको पानीको तापक्रम ६८ डिग्री सेल्सियस छ । मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पनि कुण्डमा स्नान गरेर फर्किने गरेका छन् ।