• १३ असोज २०८१, आइतबार

सुन भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ३१ गते। पहेंलो धातुको मालालाई सुनको भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ। बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका ७१ वर्षीया प्रभादेवी र ४२ वर्षीय रामनारायण सुलेङीलाई पक्राउ गरेको हो। 

उनीहरुले बुधबार पौने २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकका एक व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिएर नगद चार लाख लिएका थिए। 

नक्कली सुन दिएर नगद लिएर दुई भारतीय भागेको सूचना आएपछि प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले पोखरबाट बुटवल जाने गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो। 

प्रहरीले बुधबार ४ बजे उनीहरुलाई नगद तीन लाख ९० हजारसहित नियन्त्रण लिएको थियो। उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।