• ७ कात्तिक २०८१, बुधबार

स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट अत्यन्त न्यून भयो : सांसद केसी

blog

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विनियोजित बजेटमाथि धारणा राख्दै सांसद अर्जुननरसिंह केसी । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, जेठ ३१ गते । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेको बताउनुभयो । उहाँले नेपालमा जनसङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिनुभयो ।

सांसद केसीले विभिन्न समयमा सरकारहरूले एकै दिन ७५३ स्थानमा १५ शय्याका अस्पताल उद्घाटन भए पनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्‍याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल नभएको बताउनुभयो ।

‘‘स्वास्थ्य मन्त्रालयमा कम्तीमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्यून हो । भूतपूर्व स्वास्थ्य मन्त्री भएकाले दुःख व्यक्त गर्छु । सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेका छन् । २०५५ सालदेखि २०८० सालसम्म २५ वर्ष भयो । जनसङ्ख्या वृद्धि भयो । स्वास्थ्य संस्थाहरूको वृद्धि भयो । तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी वृद्धि भएको छैन । ठुला काम पनि भएका छन् ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘एकै दिन ७५३ स्थानमा १५ बेडका अस्पताल उद्घाटन पनि भए । ठुलो बहादुरी गरौँ । तर त्यो कति बन्यो । जनशक्ति कसरी परिचालन गर्ने भन्ने योजना थियो कि थिएन । भौतिक संरचना र उपकरणको बारेमा सोचे नौ । तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर छैनन् ।’’

उहाँले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुक्ति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताउनु भयो । उहाँले काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आएपनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खोजे पनि सम्भव नभएको बताउनुभयो ।

सांसद केसीले, ‘‘स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । हरेक गाउँ–गाउँमा स्वास्थ्य कर्मी पुर्‍याउन आवश्यक छ । तर दुरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल समेत छैन । जुन खालको परिवेश अहिले जुन छ । यो परिवेशबाट देशलाई उन्मुक्ति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक छ  । स्वास्थ्य मन्त्री युवा आउनुभएको छ तर अहिलेको स्रोत साधन र जनशक्तिले जति गर्न खोजे पनि गर्न सक्दैनौँ ।’’