• ७ कात्तिक २०८१, बुधबार

साहसी असई रामसिंहले बचाउनुभयो ११ वटा खच्चड

blog

पुलमा एक हातले झुन्डिएर खच्चडको उद्धारमा खटिरहनु भएका इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फराल । तस्बिर: गोरखापत्र

अछाम, जेठ ३१ गते । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गरेका १३ वटा खच्चड पुलकै बिचमा अड्किए स्थानीय साधन स्रोतको अभावले खच्चडको उद्धार सम्भव भएन । इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर भएपनि खच्चडलाई बचाउनुभयो ।  

लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भएपनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएका खच्चडको ज्यान बनाउन सफल हुनुभयो ।  

गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिका-९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका-४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए ।

असई रामसिंह फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयाे। पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर  मरेका थिए । 

उद्धारमा दर्शकका रूपमा जिल्लाका उच्च ओहोदाका कर्मचारीदेखि सर्वसाधारणकाे उपस्थिति थियो । अछाम र दैलेखबाट जनपथ प्रहरी, अछामबाट सशस्त्र प्रहरी र स्थानीयले उद्धारमा सहयोग गर्नुभएको थियो । 

उद्धारमा ज्यान बाजी राखेर असई रामसिंह फरालले आँट नगर्ने हो भने उद्धार सम्भव नभएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ । उहाँको साहसलाई सबैले सम्मान गरेका छन् ।

असई फराल भन्नुहुन्छ, सुरुसुरुमा कसरी खच्चड निकाल्ने भन्ने मेसो नै भएन, जब खच्चडहरू  पीडाले छटपटेको देखेँ तब मेरो मनले मानेन । अनि मैले कुनै सुरक्षा विना नै पुलमा एक हातले झुन्डिएर उद्धारमा खटेँ । 

उद्धारमा खटिएका साथीहरूले धेरै जोखिम नगर्न सुझाव दिए पनि फरालको मनले मानेन, उहाँको जवाफ थियो आँखै अगाडि मर्न कसरी दिनु । 

सङ्कटकालमा गरेको तालिमले साथ दियो

रामसिंह फराल प्रहरी सङ्गठन भित्रको पुरानो मान्छे हुनुहुन्छ । उहाँ २०५८ सालमा सङ्कटकालको समयमा माओवादीको सशस्त्र युद्ध चर्केको बेलामा प्रहरीमा भर्ती हुनुभएको हो । उहाँलाई सुरुमा प्रहरीमा भर्ना हुनु भनेको एक न एक दिन लडाइँमा परेर मर्नु हो भन्ने लागेको थियो  । 

छिन छिनमा आफू बच्ने र सुरक्षा दिने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो । सङ्कटकालमा माओवादी सेनासँग जुनसुकै बेला जम्काभेट हुनसक्ने भएकाले आफू जुनसुकै बेला मारिन सक्छु भन्नेमा उहाँ ढुक्क जस्तै हुनुभएको थियो । त्यही भएर होला फरालले तालिममा सक्दो राम्रो गर्नुभयो । त्यही बेला आफू बाँच्नका लागी गरेको तालिमले फराललाई पुलमा खच्चडको उद्धार गर्न मद्दत पुग्यो । 

Author

रमेशबहादुर रावत