• १४ असार २०८१, शुक्रबार

पहिरोमा पुरिएर युवकको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो । 

प्रहरीकाअनुसार पाँचथरको फिदिम नगरपालिका–१४ लुङ्रपा घर भएका राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए । परियोजनास्थल सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमा नै मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ट्रयाक्टर पहिरोले बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्‍याएको थियो । ट्रयाक्टरका चालकले भने भागेर ज्यान बचाउन सफल भएका थिए । घटना सोमबार रातिको भएपनि मृतकका आफन्तलाई पर्खनुपर्ने हुँदा बुधबार मात्र घटनास्थलबाट शव उठाएको प्रहरी निरीक्षक लुङगेलीले बताउनुभयो ।

उहाँकाअनुसार घटनास्थलबाट शव उठाएर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्‍याइएको छ । मृतकका बाबु दीपक राईसहितका आफन्तहरू आउनुभएको र शव पोष्टमार्टम (परीक्षण) गरी बुझाउने तयारी भइरहेको लुङगेलीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार हाइड्रोपावर परियोजना र मृतकका परिवारबिच क्षतिपूर्तिका विषयमा पनि समझदारी भइसकेको छ ।