• १२ साउन २०८१, शनिबार

वीरगन्जका अवैध गोदाममा सशस्त्र प्रहरीको छापा : ४४ लाखको सामान बरामद

blog

सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट अवैध गोदाममा छापा मारेर बरामद गरेको सामान । तस्बिर : सशस्त्र प्रहरी

पर्सा, जेठ ३० गते । सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेको जानकारी दिनुभयो । उहाँका अनुसार सो क्रममा सौन्दर्य क्रिम, मुङ दाल, मोटर पाटर्स तथा अन्य अवैध सामान बरामद गरेको हो ।


बरामद सामानमा १४ लाख ५९ हजार दुई सय रुपियाँ बराबरको लेक्मी ब्राण्डको क्रिम, १४ हजार पाँच सय ९२ पिस, सोही ब्राण्डको आठ लाख ६ हजार चार सय रुपियाँ बराबरको १६ हजार एक सय २८ पिस क्रिम रहेको छ । यस्तै, मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपियाँ बराबरको तीन हजार किलो दाल समेत बरामद भएको छ ।   

यसैगरी, मङ्गलबार राति नै सोही गुल्मले वीरगन्ज महानगरपालिका–१० बाट अवैध रूपमा राखिएको ११ लाख रुपियाँ बराबरको मोटर पाटर्स र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । यसैबिच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब तीन करोड मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सहप्रवक्ता थापाले बताउनुभयो ।