• १३ असोज २०८१, आइतबार

व्यवसायीलाई करदाता शिक्षासम्बन्धी अभिमुखीकरण

blog

करदाता शिक्षासम्बन्धी कार्यक्रममा सहभागीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ २८ गते ।
जिल्लामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई करदाता शिक्षासम्बन्धी अनुशिक्षण दिइएको छ । करका बारेमा जानकारी गराउनका लागि उद्योगी व्यवसायीबिच यो कार्यक्रम आयोजना गरिएको हो ।

क्षेत्रीय कर कार्यालय सुर्खेतका कर अधिकृत कपिल सुवेदीले व्यवसायीलाई करको बारेमा स्पष्ट पार्न जिल्ला मै आएर अनुशिक्षण गर्ने कार्य गरेको बताउनुभयो । उहाँले अहिले पनि करका प्रकार, समय मै कर तिर्दाका फाइदा, नतिर्दाका बेफाइदाका बारेमा जानकारी दिने कार्य भएको उहाँले बताउनुभयो ।

बेला बेला कार्यालयले छुटको सुविधा कार्यालयले दिने गरेको तर व्यापारीलाई जानकारी नहुने भएकाले त्यस बारेमा पनि सहजीकरण गर्ने कार्य भएको थियो । कार्यक्रममा जिल्लाका व्यवसायीहरुले करमाथिका अस्पष्टताका बारेमा स्पष्ट हुन खोज्नुभएको थियो । उहाँले सहभागी व्यवसायीलाई राज्यलाई समय मै कर तिरेर असल नागरिकका रुपमा आफूलाई चिनाउन पनि अग्रसर हुनपर्ने बताउनुभयो ।

व्यवसाय गर्ने तर कर नतिर्ने प्रवृत्ति राज्यका लागि हानिकारक भएका कारण त्यस्ता व्यवसायीलाई दण्डित गरिने पनि उहाँले बताउनुभयो । अभिमुखीकरणका क्रममा उहाँले अब करका प्रत्येक कार्य अनलाइनबाट गर्न सकिने भएका कारण धेरै खर्च गरेर जिल्ला बाहिर जान नपर्ने व्यवस्था भएको जानकारी पनि गरिएको थियो । क्षेत्रीय कर कार्यालय सुर्खेतको आयोजना र उद्योग वाणिज्य सङ्घ हुम्लाको समन्वयमा व्यवसायीलाई सो अनुशिक्षण दिइएको हो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीसहित ४० भन्दा बढी व्यवसायीको सहभागिता थियो ।