• १२ असार २०८१, बुधबार

खेल रद्द भए पनि नाचेर फर्किए नेपाली समर्थक (फाेटो फिचर)

blog

नेपाल र श्रीलङ्काको खेल हेर्न उपस्थित भएका नेपाली समर्थक । तस्बिरहरु : गोविन्द रेग्मी

अमेरिका (फ्लोरिडा) जेठ ३० गते । फ्लोरिडाको वेस्टपामबिचमा बस्दै आउनुभएकमा बुटबलका राजकुमार श्रेष्ठले नेपाल र श्रीलङ्काबिचको खेल हेर्न दुई महिनाअघि टिकट बुक गर्नुभएको थियो ।

उहाँले आफूसँगै श्रीमती र दुई सन्तानका लागि पनि टिकट लिनुभयो । महँगाे मूल्यको दर्शक टिकट लिएर परिवारसहित  बुधबार ब्रोवार्ड काउन्टी स्टेडियम पुग्नुभएका श्रेष्ठले खेलको मजा भने लिन पाउनुभएन । 


‘‘नेपालले राम्रो खेल्ला र जितको मजा लिन पाइएला भनेर उत्साहित थियौँ । तर दुई महिनादेखि नेपाली समुदायले गरेको मिहेनत र उत्साहमा वर्षा बाधक बन्यो । खेल हेर्न नपाए पनि अविरल वर्षाबिच हजारौँ सङ्ख्यामा उपस्थित नेपाली दाजुभाइ र दिदीबहिनीलाई देखेर खुशी लागेको छ । आज नेपाल पुगेको जस्तो भान भएको छ,’’ श्रेष्ठले भन्नुभयो । 


ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महँगाे हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए । 


बाजागाजा, नेपालको झण्डा र नेपाललाई समर्थन गर्ने विभिन्न प्लेकार्ड बोकेर प्यारापिटमा जम्मा भएका नेपाली समर्थकले खेल सुचारु हुने सोचमा लामो समय नाचगान गरेर बिताए । गीत गाए र धेरै समय रमाए पनि ।


अन्तिममा लगातार वर्षाले टस नै नगरी अम्पायरले खेल रद्द भएको घोषणा गरेपछि नेपाली समर्थक निराश बनेर घर फर्किएका थिए । 


१४ हजार क्षमताको ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार करिब पाँच हजारको सङ्ख्यामा नेपाली समर्थक विभिन्न स्थानबाट पुगेका थिए । नेपालको तुलनामा श्रीलङ्काको समर्थक नगन्य देखिन्थे ।


यसअघि डालासमा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि त्यहाँको स्टेडियम नेपाली समर्थकले भरिएको थियो । नेपाली क्रिकेटले उचाइ लिँदै जाँदा देशभित्र र बाहिर हरेक खेलमा समर्थकको उल्लेख्य साथ रहँदै आएको छ ।


नेपाली समर्थकले वेस्ट इन्डिजमा हुने खेलमा समेत साथ दिने विश्वास गरिएको छ ।