• १३ असोज २०८१, आइतबार

सुर्खेतको बुलबुले ताल, डुङ्गामा सरर लगाउँ मायाजाल

blog

बुलबुले तालमा डुङ्गा चढ्दै मुख्यमन्त्री यामलाल कँडेललगायतका अतिथि ।

ललित बसेल 

सुर्खेत, जेठ ३० गते । सुर्खेतको बुलबुले तालमा इन्जिन डुङ्गा सञ्चालन गरिएको छ । तालभित्रको झार हटाएपछि मङ्गलबारदेखि औपचारिक रूपमा तालमा डुङ्गा सञ्चालन गरिएको हो । 

सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सो तालमा दुई महिनाअघिदेखि बोटेबोरा नामक निजी कम्पनीले तीन वटा डुङ्गा सञ्चालन गरिरहेको थियो । मङ्गलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औपचारिक रूपमा डुङ्गाको शुभारम्भ गर्नुभयो । सो क्रममा उहाँले कर्णाली प्रदेशमा पर्यटन क्षेत्रबाट मात्रै राम्रो रोजगारी उत्पादन गर्न सकिने भएकाले सरकारी तथा निजी क्षेत्रमा सँगसँगै हिँड्न अपिल गर्नुभयो । 

उहाँले बुलबुले ताललाई अर्को प्रसिद्ध स्थल काँक्रेविहारसँग जोड्ने काम, पिकनिक स्थलका रूपमा परिणत भएको बुलबुले ताल क्षेत्रको स्वरूप परिवर्तन गर्दै बुलबुलेको ढुङ्गेधारामा नुहाउन प्रयोग भइरहेकोमा सो ठाउँलाई अन्यत्र स्थानान्तरण गर्ने, बुलबुलेभित्रका खाली भागलाई बगैँचाका रूपमा परिणत गर्ने कामलाई आफूले प्राथमिकता राखेको बताउनुभयो । 

प्रदेश राजधानी सुर्खेतको बुलबुले, काँक्रेविहारसहित मुगुको रारालगायत अन्य प्रसिद्ध पर्यटकीय क्षेत्रको विकास गर्न आन्तरिक र बाह्य पर्यटक भित्र्याउन प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जानकारी उहाँले दिनुभयो । 

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले पर्यटन क्षेत्रमा पनि प्रदेश सरकारको लगानी रहने बताउनुभयो । उहाँले निजी क्षेत्रले पनि कर्णालीको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै बुलबुलेमा डुङ्गा सञ्चालनले आन्तरिक पर्यटनमा बढावा दिने अपेक्षा व्यक्त गर्नुभयो । 

बुलबुलेमा डुङ्गा सञ्चालन बोटेबोरा कम्पनीका सञ्चालक विष्णु ढकालले आफूहरूले दुई महिनादेखि बुलबुलेमा डुङ्गा सञ्चालन गरिरहँदा बुलबुले भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको जानकारी दिनुभयो । बुलबुलेलाई निकै राम्रो पर्यटकीय गन्तव्य गराउन सकिने र यसका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रले समन्वय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । 

सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बुलबुलेमा डुङ्गा सञ्चालनपछि वार्षिक ५० लाख रुपियाँ राजस्वमा थप गरेको बताउनुभयो । बुलबुलेमा डुङ्गा सञ्चालन आएपछि दैनिक सात सय जनाले डुङ्गा सयर गर्ने गरेका छन् ।  डुङ्गा चढेबापत दुई सय शुल्क लिने गरिएको छ ।