• ११ मंसिर २०८१, मङ्गलबार

बस्ती रित्तिँदै, खेतबारी बाँझै

blog

दैलेख समाचारदाता

दैलेख, जेठ ३० गते । जिल्लाको भगवतीमाई गाउँपालिका–२ मा एक दशकअघि चालिसभन्दा बढी घरपरिवार बस्थे । अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् । सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँसराइ सर्ने क्रमसँगै यस्तो अवस्था देखिएको हो । 

भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले भन्नुभयो, “हाम्रो वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका छन् । पहाडमा त कोही बस्न मान्दैनन् सबैको आँखा तराईतिर छ । पुराना घर जीर्ण छन् भने खेतबारी बाँझै छन् ।” 

उहाँका अनुसार गाउँका केही मानिस तराई झरेका थिए तर अहिले त सबै आफन्त तराई सरेपछि गाउँ रित्तो भएको छ । पहाडमा बस्नेको सुखदुःखमा साथ दिने मानिस 

पनि छैनन् । भगवतीमाई गाउँपालिका–२ का मात्र होइन, पालिकाका अधिकांश बस्ती बसाइँ सर्ने क्रम पछिल्ला दिनमा झन् बढ्दै गएको छ । पहाडी क्षेत्रमा उब्जाउ कम हुने र रोजगारीका अवसर पनि नहुने भएकाले तराई झर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

भगवतीमाई गाउँपालिका–४ का खेमराज थापाले सहरमा रोजगारी भएकाहरू गाउँ फर्किन नमान्ने र रोजगारी खोज्नेहरू पनि सहर बजारमा बस्ने भएकाले गाउँ रित्तो हुनु स्वाभाविक भएको बताउनुहुन्छ । 

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले युवालाई रोजगारीमा जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि बसाइँ सर्ने क्रम नरोकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिले गाउँघरतिर सडक थिएन । स्वास्थ्यका पूर्वाधार निर्माण भएका थिएनन्, शिक्षाको अवस्था पनि त्यस्तै थियो तर अहिले त स्थानीय सरकार गठन भएपछि गाउँमा धेरै परिवर्तन भएको छ । तैपनि गाउँ छाड्ने क्रम रोक्न सकिएन । यो नै दुर्भाग्य भएको छ ।”

स्थानीय सरकारले नागरिकले अपेक्षा गरे अनुरूपका विकास गर्न नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो, “रोजगारीका अवसर दिन सकिएको छैन तर विकासका पूर्वाधार त प्रशस्त भएका छन् । रोजगारी नै सबैको प्राथमिकतामा परेकोले भौतिक विकासले मात्र बसाइँसराइ हुने क्रमलाई रोक्न सकिएन ।” ज्वाला माध्यमिक विद्यालयका शिक्षक कमल अधिकारीले भन्नुभयो, “धेरै गाउँ रित्ता भए, प्रशस्त अन्न फल्ने मलिला फाँट बाँझो भएका छन् । पहाडी क्षेत्रका लागि यो निकै संवेदनशील विषय भएको छ ।”

पहाडी क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत कुराको विकास र सम्भावनाको खोजी गर्नेतर्फ कसैको ध्यान नगएका कारण पहाड रित्तिने अवस्थामा पुगेको उहाँको भनाइ छ ।