• १२ साउन २०८१, शनिबार

एमाले गुल्मी अधिवेशन आजदेखि सुरु

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ २९ गते । 
नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन आज (मङ्गलबार) देखि सुरु हुँदैछ । आजबाट सुरु भएको अधिवेशन दुई दिनसम्म हुने भएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।

सचिव श्रीपालीका अनुसार अधिवेशनका लागि यस जिल्लाका १२ वटै पालिका र ९३ वटै वडाबाट ५८५ जना प्रतिनिधि छनोट भएका छन् । ११७ जना आयोजक कमिटी र ९८ जना जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधि रहने छन् । अधिवेशनका लागि कूल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सकिनेछ ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये पाँच जनाको पदाधिकारी हुनेछ । एमाले गुल्मीमा १० हजार बढी सङ्गठित सदस्य रहेको पार्टीले जनाएको छ ।

तम्घासमा हुन लागेको अधिवेशनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिवद्वय गोकर्ण विष्ट र पद्मा अर्याल, गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू, प्रदेशका नेताहरू लगायतको सहभागिता रहने बताइएको छ ।