• १२ साउन २०८१, शनिबार

दानसाघु खोलामा पुल नहुँदा दैनिक जोखिममा स्थानीय

blog

बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा ज्यान जोखिममा राखेर मोटरसाइल चलाउँदै गरेका स्थानीय । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ २९ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा पुल नहुँदा आउजाउमा निकै समस्या हुने गरेको छ । मार्तडी देखि कोल्टी सडक सुचारु भएको दश वर्ष पछि पनि दानसाघु खोलामा पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधनालाई बर्खाको समय आउजाउमा समस्या हुने गरेको हो ।

पानी थोरै हुँदा हिउँदको महिना खोला तर्न सहज भए पनि बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकोले सवारी साधनालाई आउजाउमा समस्या हुने गरेको गाडी चालक पदम बडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उता साफे–मार्तडी सडक अन्तर्गत पर्ने जडाङ्गमा दुई पुल यता मार्तडी कोल्टी सडक अन्तर्गत पर्ने दानसाघु खोलामा भने एकै नाइँ ।”

पुल नहुँदा बर्खाको समय गाडी वारी रोकिने भएकोले कोल्टी , हिमाली , जगनाथ र स्वामिकार्तिकका व्यापारीलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको बडुवालले बताउनुभयो ।

२०७२ साल देखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई दैनिक खाद्यान्न सामाग्री ढुवानी सहज भएको कोल्टीका स्थानीय राजेन्द्र रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदका केही दिन बस, ट्रक , जिप र ट्याक्टर मार्तडी देखि कोल्टी सुचारु हुँदै आए पनि बर्खा ती सबै सवारी साधन दानसाघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई बर्खाको समय सामान ढुवानी गर्न निकै समस्या हुने गर्छ ।”

दानसाघुमा स्थायी रूपमा पुल नहुँदा बर्खाको समय यहाँका व्यापारीले भरियाद्वारा सामान ढुवानी गराउने हुँदा स्थानीय बासीलाई सधैँ चर्को मूल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता हुने गरेको रोकायाले बताउनुभयो ।

यहाँका नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरूलाई जडाङ्गामा रहेको बेलिव्रिजलाई दानसाघुमा लिने सहमति बनाएको भए पनि पैसा अभावका कारण त्यो पुल यता ल्याउन नसकेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ दानसाघु खोलमा तत्काल बेलिव्रिज हाल्नका लागि प्रदेश र सङ्घीय सरकार सँग माग गर्दै आएको भए पनि अहिले सम्म सुनुवाइ  भएको छैन ।” स्थानीय सरकारले पुल बनाउन सक्ने सम्भावना छैन । प्रदेश र सङ्घीय सरकारले रकम हाल्दैन । त्यसैले यो  खोलामा पुल निर्माण हुन नसकेको   बोहराले बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्रालय सडक विभागको  मिति २०८० माघ  २२ गते को पत्रअनुसार तीन वटा यस मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी त्यहाँ कार्यालयबाट उपलब्ध गराउने सहमति भएकोमा अनाईगाड खोलामा र भौनेराखोलामा हाल मोटरेवल पुल निर्माण भइरहेकोले बेलिव्रिज आवश्यक नपर्ने तथा बाजुरा जिल्लाको मार्तडी देखि कोल्टी सडक खण्डको दान साँघु खोलामा अति आवश्यक रहेको करिब ४० मिटर बेलिव्रिज उपलब्ध गराई दिन अनुरोध छ भनेर सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई  पत्रकार गरेको छ । 

तर अहिले सम्म यो खोलामा पुल बनेको छैन । यहाँका स्थानीयलाई यो पत्र कार्यान्वयन भए नभएको बारेमा केही जानकारी छैन ।  यहाँका स्थानीयले पटक पटक पुल निर्माणका लागि माग गर्दै आएका भए पनि अहिले सम्म कतैबाट पनि सुनुवाइ भएको छैन ।

मार्तडी देखि पीलिचौर सम्मको सडक निर्माणको मात्र हामीलाई जिम्मा भएकोले सानसामुको पुलको बारेमा भने केही जानकारी नभएको भौतिक पुवाधार विकास कार्यालय साँफेबगर अछामका सुचनाअधिकारी देखि प्रसाद उपाध्यायले बताउनुभयो ।

सडक डिभिजन कार्यालय अछामको साफे देखि मार्तडी सम्मको सडकको मात्र जिम्मा भएकोले त्यो भन्दा माथिको सडक तथा पुलका बारेमा आफूलाई कुनै जानकारी नभएको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले बताउनुभयो ।