• २४ असार २०८२, मङ्गलबार

करोडौँको सामान चोर्ने दुई पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ २९ गते । पोखरा महानगरपालिका वडा नम्बर १७ घारी पाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी अभियोगमा पक्राउ परेका दुई जनालाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका वडा नं.२२ घर भई पोखरा १३ मियापाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रा पाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । नेपाली र थापालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार दिन सात म्याद थप गरी अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली र थापामगरले जेठ ११ गते घारिपाटनको पोखरा हाउजिङ नजिकै लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर र कोठाबाट सामान चोरी गरेको प्रहरीले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनका गरगहना ४२ तोला, मोबाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद तीन लाख ८० जारी एक करोडभन्दा बढीका सरसामान चोरी भएको उल्लेख गर्नुभयो । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई अनुसन्धान गर्दै जाँदा थापामगर र नेपालीको संलग्नता देखिएको प्रहरीको दाबी छ ।