काठमाडौँ, जेठ २९ गते । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले ऐतिहासिक गढी किल्लाको खोज गरी संरक्षणको प्रयास थालेको छ । बेथानचोक–५ स्थित कपेरमहाङ्कालगढीमा मकवानपुरका सेन वंशी राजाका सेना र गोर्खाली सेनाबिच पटक पटक युद्ध भएको बताइन्छ ।
अङ्ग्रेजलाई उपत्यका प्रवेशमा रोक्ने अग्रकिल्लाका रूपमा सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई सुदृढ गरिएको थियो । त्यसको प्रतिरक्षा किल्लाका रूपमा कपेरमहाङ्कालगढीलाई सुदृढ गरिएको इतिहासकारले बताउनुभएको छ । बेथानचोक गाउँपालिका, संस्कृति तथा पुरातìव अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित अन्तर्क्रियामा इतिहासकार प्राडा दिनेशराज पन्तले काठमाडौँ उपत्यकामा मध्यकालदेखि नै पटक पटक पूर्वबाट आक्रमण हुने गरेको र पूर्वपट्टिको कपेरमहाङ्कालगढी वास्तवमै रणनीतिक महत्वको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गढी किल्ला नभएको भए पृथ्वीनारायण शाहको पुनः एकीकरण सम्भव थिएन । उपत्यकामा अङ्ग्रेज सेनालाई प्रवेश गर्न नदिन तयारी अवस्थामा राखिएको सहायक गढीका रूपमा कपेरमहाङ्काल गढीको महत्व रहेको थियो ।”
उहाँका अनुसार १८१९ माघ १० गते मकवानपुरगढीमा बङ्गाली सेनासँग गोर्खालीको युद्ध भयो । त्यो ठाउँ यो होइन, त्यस्तै १८२४ असोज १५ गते सिन्धुलीगढीको पौवागढीमा किनलकको सेनालाई हटाइयो । त्यो ठाउँ पनि यो होइन । अङ्ग्रेज यहाँसम्म नआइपुगे पनि यो मकवानपुरबाट उपत्यका प्रवेश गर्न नदिन तयार पारिएको गढीका रूपमा कपेरमहाङ्कालगढीलाई चिन्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालय नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वविभागीय प्रमुख एवं पुरातत्वविद् प्राडा मदनकुमार रिमालका अनुसार अवस्थिति र भूगोलका आधारमा हेर्दा हरिहरपुरगढी दपेटेको खण्डमा अङ्ग्रेज सेनालाई रोक्न यो व्यवस्थित गढीको निर्माण गरिएको देखिन्छ ।
नेपाल उपत्यकामा भएका अधिकांश आक्रमण पूर्वतर्फबाट हुने गरेकाले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको उहाँको भनाइ छ । यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्ने उहाँको अनुमान छ । मकवानपुर राज्यमाथि गोर्खालीले आधिपत्य जमाएपछि हरिहरपुरको सहायक गढीका रूपमा विकास गरेको हुन सक्ने उहाँको भनाइ छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो रणनीतिक महत्वको गढी हुन सक्ने स्थानीय किंवदन्ती रहेकोमा यसलाई व्यवस्थित अध्ययनबाट पुष्टि गर्न गढीसम्बन्धी अध्ययन गराइएको बताउनुभयो ।उहाँले हालसम्म चर्चामा नरहेको यो गढीको ऐतिहासिक महत्व पुष्टि भएपछि अब यसलाई संरक्षण गर्दै अघि बढ्ने बताउनुभयो ।
संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका तर्फबाट त्रिवि नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी डा. सन्ध्या खनाल पराजुलीको नेतृत्वमा सो गढीको ऐतिहासिक महत्वबारे अध्ययन गरिएको थियो । अनुसन्धानबाट यो गढीमा गोरखाली सेना र सेनवंशी सेनाबिच युद्ध भएको र तामाङ सेना सो युद्धमा सहभागी भएको पाइएको छ । यो रणनीतिक महत्वको गढीलाई गोरखाली सेनाले कब्जामा लिएर हरिहरपुरगढीपछिको सुरक्षा किल्लाका रूपमा विकास गरिएको डा. खनालले जानकारी दिनुभयो ।
टुँडिखेल र कपेरमहाङ्काल सम्बन्ध
सोही गढीको पश्चिमपट्टि रहेको कपेरमहाङ्काल थान पनि सांस्कृतिक रूपमा महत्वपूर्ण रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गढीको निर्माण गर्दा त्यसको मध्यभागमा जय, विजय, विषाखा, कुवेर आदि देवताको स्थापना गर्ने कौटिल्यको अर्थशास्त्रमा उल्लेखित विधान अनुसार नै बेथानचोकको कपेरमहाङ्काल गढीमा पनि सुरक्षाका निमित्त महाङ्कालको स्थापना गरिएको अध्ययनका क्रममा भेटिएको छ । युद्ध चलिरहेका समयमा सेनाका उच्च अधिकारीलाई सपनामा महाङ्कालले उनको थानमा बलि चढाएर उपासना गरे शत्रु पराजित हुने सुझाव दिएको, बलि चढाएपछि घाँसपात, सिस्नु तथा किराफट्याङ्ग्रा अरिङ्गाल बनेका, शत्रुका आँखा बन्द भएको र युद्ध जितिएको, यसको असर थामडाँडागढीमा पनि परेको भनाइ पाइन्छ ।
यिनै महाङ्काल काठमाडौँको टुँडिखेलमा स्थापना गरिएको स्थानीयको भनाइ छ । किंवदन्तीलाई आधार मानी बेथानचोकको र काठमाडौँका महाङ्कालको सम्बन्धलाई जोडेरे हेर्ने हो भने कपेरमहाङ्कालगढी र कपेरमहाङ्कालको ऐतिहासिकतालाई मध्यकालसम्म पु¥याउन सकिने डा. खनालले जानकारी दिनुभयो ।
दक्षिणतर्फको व्यापारमार्गका महत्वपूर्ण स्थान
कपेरमहाङ्काल हुँदै थामडाँडा पुगेर दक्षिणपूर्वी भेगमा उपत्यकाले व्यापार गर्ने व्यापारमार्ग चल्ने गरेको अध्ययनका क्रममा भेटिएको छ । हाल बेथानचोक गाउँपालिका ५ र १ बाट काठमाडौँ उपत्यकाका विभिन्न राज्यले दक्षिणतर्फ व्यापार गर्ने गरेको सङ्केत भेटिएको छ । साबिक च्यासिङखर्क गाविस कपेरमहाङ्कालडाँडा हुँदै थामडाँडा निस्किएर दक्षिणतर्फ भारतसम्म जाने परम्परागत बाटो रहेको स्थानीय किंवदन्ती भेटिन्छ । डिआर रेग्मीद्वारा लिखित मिडिएबल नेपालले पनि यो क्षेत्र हुँदै व्यापारिकमार्ग दक्षिणतर्फ जाने गरेको सङ्केत गरेका छन् । बेथानचोक १, ५ र ६ बाट दक्षिणतर्फको व्यापारका लागि जाने गरिएको स्थानीय किंवदन्ती र इतिहास भेटिन्छ । पालिकाको वडा नं. १ बाट फापरबारी हुँदै गौर पुग्ने बाटो पनि रहेको स्थानीयको भनाइ छ । यहाँबाट केवल ३७ किलोमिटरमा मकवानपुर जिल्लाको फापरबारी पुग्न सकिन्छ । च्याल्टीका स्थानीय लीला लामाका अनुसार खोपासी, पनौती र बनेपाको दक्षिणतर्फको व्यापार पनि यही मार्ग हुँदै जाने गरेको आफ्ना पुर्खाले सुनाएको बताउनुभयो ।
डिआर रेग्मीले आफ्नो पुस्तक मिडिएबल नेपालमा महाभारतको डाँडोबाट मध्यकालीन समयमा ललितपुरका शासक एवं व्यापारीले दक्षिणतर्फको व्यापार गर्ने गरेको उल्लेख गरेका छन् ।