• १९ असार २०८१, बुधबार

विपद् न्यूनीकरणका लागि स्थानीय सरकार तयारी अवस्थामा

blog

स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख बालकृष्ण श्रेष्ठ । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २८ गते ।
 सिन्धुपाल्चोक विपदग्रस्त जिल्ला हो । यहाँका तीन नगरपालिका र नौ गाउँपालिकाले विपद् प्रतिकार्यका पूर्व तयारीका कामहरू गरिरहेका छन् ।

बाह्रबिसे नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन दुर्गाप्रसाद भण्डारीले नगरभित्रका २२ वटा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि तयारी गरिरहेको, विपद् न्यूनीकरणका लागि नगर, वडा, टोलस्तरीय विपद् व्यवस्थापन गरिएको, विपद् हुन नदिन तारजाली, टेन्ट लगायतका ३१ प्रकारका उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

बलेफी गाउँपालिकाका विपद् व्यवस्थापन समिति फोकल पर्सन सुकुलाल तामाङले बलेफी गापामा विपद् न्यूनीकरणका लागि प्रतिकार्यका पूर्व तयारीका कामहरू भइरहेको बताउनुभयो । ३७ घर विपदबाट जोखिम रहेकाले पुनर्स्थापनाका लागि जग्गा प्राप्ति भएको बताउनुभयो । प्रतिकार्यका लागि सामग्रीहरू खरिद गर्न लागिएको र पालिकास्तरीय, वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको तामाङले बताउनुभएको छ ।

लिसंखुपाखर गापाले पहिरोको जोखिमयुक्त ३७ घरलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि काममा जुटेको छ । चौतारा नगरपालिकाले विपद्जन्य घटनाका प्रतिकार्यका पूर्व तयारीका कामहरू गरिरहेको छ । उसले तारजाली, त्रिपाल, अस्थायी सेल्टरका लागि २५ हजार उपलब्ध गराउने, आवासका लागि तत्काल २५ प्रतिशत सहयोग प्रदान गरिने जनाएको छ ।

सुनकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गापा, भोटेकोशी गापा, हेलम्बु गापाले विपद् न्यूनीकरणका लागि पूर्व प्रतिकार्यका कार्यहरू गरिरहेको जनाएका छन् । मेलम्ची नगरपालिका, जुगल गापा, इन्द्रावती गापा लगायतले पनि विपद् हुन नदिन पूर्व तयारीका कामहरू गरिरहेका छन् । उक्त कार्यहरू जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा सोमबार स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियामा सम्पन्न स्थानीय तहका विपद् व्यवस्थापन समितिका फोकल पर्सनहरुले यस्तो कुराहरू बताएका हुन् ।

उक्त कार्यक्रममा विपद् व्यवस्थापन प्रतिकार्यका योजना, बजेट विनियोजन, विपदबाट जनधनको क्षति न्यूनीकरणका कार्य, उद्धार र राहतका विषयमा स्थानीय विपद् व्यवस्थापन समितिले काम गर्नुपर्ने बारे छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विपद्का संवैधानिक व्यवस्था, नीतिगत व्यवस्था र कानुनी प्रक्रियाका बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले विपद्का घटनामा सुरक्षा निकायले गरेका पूर्व तयारीका कामहरूको बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मदन कँडेलले विपद् न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा दिनुपर्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।