• २४ असार २०८२, मङ्गलबार

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ: अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत शुक्रबार राष्ट्रिय समाचार समिति, केन्द्रीय कार्यालयद्वारा आयोजित तस्बिर प्रदर्शन अवलोकनपश्चात प्रतिक्रिया दिँदै ।

काठमाडौँ, जेठ २७ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘सञ्चारमाध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रमअन्तर्गत आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकारितामा हुने चोरी र हुबहुलाई निरुत्साहित गर्दै पत्रकारहरू सृजनशील र व्यावसायिक हुनुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यम आफैले पनि स्वनियमन र पृष्ठपोषणका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

“प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र कारबाहीलगायतका काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । पत्रकारितामा ‘कपिपेस्ट’ गर्ने प्रवृत्ति विकराल छ, रहेको भन्दै यसलाई निरुत्साहित गराउन काउन्सिलको संयन्त्रले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले राससबाट सम्प्रेषित समाचार, तस्बिर र भिडियोहरू स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक भएको बताउनुभयो । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पनि आमसञ्चारमाध्यमले स्वनियमनको संयन्त्र बनाउन जरुरी रहेको बताउनुभयो । “रासस विनियमको पक्षमा छ । राससले शैली पुस्तिकामार्फत स्वनियमनको अभ्यास अघि बढाएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रविधिको विकाससँगै पत्रकारितामा थपिएको चुनौतीलाई सामना गर्दै पत्रकारिताको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले पत्रकारितालाई व्यावसायिक, मर्यादित, जबाफदेही एवम् उत्तरदायी बनाउन काउन्सिलसँगको सहकार्य महत्त्वपूर्ण भएको धारणा राख्नुभयो । काउन्सिलले विभिन्न सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारिता आचारसंहिता, सञ्चारमाध्यमको गुनासो, जिज्ञासालगायतका विषयमा अन्तरक्रिया गर्दै आएको छ । अन्तरक्रियामा पत्रकारिताका चुनौती, समाचारको लेखन शैली, समाचारमा स्रोतको प्रयोग, पत्रकारिताले बेहोरिरहेका समस्या र समाधानका विषयमा छलफल भएको थियो । रासस