• १२ साउन २०८१, शनिबार

नक्कली नोटसहित दुई जना पक्राउ

blog

काठमाडौँ, जेठ २७ गते । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ कलङ्कीस्थित सेतो खरायो रेस्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उहाँहरूलाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।” प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस