• २४ असार २०८२, मङ्गलबार

महानगर प्रमुख महर्जनद्वारा गोरखापत्रको फोटो प्रदर्शनी अवलोकन

blog

गोरखापत्रको फोटो प्रदर्शनी अवलोकनपछि कुरा गर्नुहुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २७ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सानैदेखि गोरखापत्र पढ्दैआएको र अहिलेसम्म पढ्ने नसा न उत्रेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा प्रदर्शनीका लागि ऐतिहासिक तस्बिरको अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 


उहाँले भन्नुभयो, ‘तस्बिरको अवलोकन गर्दा निकै राम्रो लाग्यो । मेरा समकालीन तस्बिर हेर्दा  पुरानो कुराको स्मरण आयो । त्यसको लागि गोरखापत्र संस्थालाई धन्यवाद दिन्छु ।’ उहाँले थप्नुभयो, “सानैदेखि पत्रिका हेर्ने रहर थियो, त्यो बेलादेखि गोरखापत्र, शुक्रबार, नयाँ सन्देश लगायतका पत्रिका थिए । सानैदेखि गोरखापत्र रमाई–रमाई पढ्ने नसा लागेको थियो, त्यो अहिलेसम्म पनि उत्रिएको छैन । आजको तस्बिर प्रदर्शनी हेर्दा इतिहासको स्मरण आएको छ ।” पाना पल्टाएको जस्तो भयो । 


समयअनुसारका तस्बिर व्यवस्थित गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,  ‘समय अनुसार तस्बिर व्यवस्थित गर्दै लगेमा उमेरअनुसारका मानिस तस्बिर हेरेर रमाउने थिए ।’ साथै उहाँले संस्थानमा राखेका तस्बिरलाई व्यवस्थित गरेर पाटनमा प्रदर्शनी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ राखेका तस्बिरमा पाटनका तस्बिर थोरै छन्, यसलाई व्यवस्थित गरेर पाटनमा प्रदर्शनीमा राखौँ, हामीले पनि सहयोग गर्छौँ ।’ 


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको इतिहासलाई सुरक्षित गर्ने उद्देश्यले डिजिटल अर्काइभिङको काम भइरहेको बताउनुभयो । उहाँले गोरखापत्रबाट प्रकाशित सबै प्रकाशन सबैको साझा सम्पत्ति भएकाले यसलाई जगेर्ना गर्ने दायित्व सबैको भएको बताउनुभयो । उहाँले गोरखापत्र ललितपुर महानगरपालिकासँग तस्बिर प्रदर्शनमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । 


अध्यक्ष सुवेदीले मेयर महर्जनलाई मायाको चिनो स्वरूप गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्नुभयो । त्यस्तै, कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले प्रदर्शनमा रहेका पुराना एवम् ऐतिहासिक तस्बिरको सँगालो पुस्तक  ‘परिवर्तित नेपाल’ उहाँलाईलाई प्रदान गर्नुभयो ।  

भिडियोमाः  मनोजरत्न शाही र केशब गुरुङ