• २४ असार २०८२, मङ्गलबार

उत्कृष्ट स्थानीय तह, प्रधानाध्यापक र विद्यालय पुरस्कृत

blog

काठमाडौँ, जेठ २७ गते । विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका स्थानीय तह, सामुदायिक विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकको छाता संस्था प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) को शनिबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो । 

पानले गठन गरेको मूल्याङ्कन समितिले विभिन्न सूचकको आधारमा ती व्यक्ति तथा निकायलाई सम्मान गर्न सिफारिस गरेको थियो । मूल्याङ्कन समितिको सिफारिसको आधारमा सातै वटा प्रदेशबाट सात पालिका, सात विद्यालय र सात जना प्रधानाध्यापकलाई पुरस्कृत गरिएको हो । 

पानका अनुसार कोशी प्रदेशबाट पुरस्कृत हुनेमा उत्कृष्ट पालिकातर्फ इलामको सूर्योदय नगरपालिका, विद्यालयतर्फ सुकुना मावि सुन्दरहरैँचा, मोरङ र मनकामना रत्न अम्बिका मावि सङ्खुवासभाका प्रधानाध्यापक कुबेरप्रसाद भेटवाल रहेका छन् । त्यस्तै मधेश प्रदेशबाट उत्कृष्ट पालिकातर्फ कोहलबी नगरपालिका बारा, उत्कृष्ट विद्यालयतर्फ जनता मावि गौरीडाँडा, महोत्तरी, उत्कृष्ट प्रधानाध्यापकतर्फ विनोद मेहता, शारदा मावि, सुगौली, पर्सा रहेका छन् । बागमती प्रदेशबाट उत्कृष्ट पालिकातर्फ काठमाडौँ महानगरपालिका, उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रधानाध्यापकतर्फ प्रदीप पराजुली, जनक मावि काभ्रेपलाञ्चोकलाई सम्मान गरेको छ । 

गण्डकी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) तर्फ मध्यविन्दु नगरपालिका  नवलपरासीपूर्व, उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि, कास्की र उत्कृष्ट प्रधानाध्यापकतर्फ  लेखबहादुर हमाल, प्रकाश मावि, बेनी, कास्कीलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) मा  ठाकुरबाबा नगरपालिका, बर्दिया, उत्कृष्ट विद्यालयतर्फ कालिका मानवज्ञान मावि, रुपन्देही र उत्कृष्ट प्रधानाध्यापकतर्फ भागवत पौडेल, सेन्टर मावि, तुलसीपुरलाई सम्मान गरिएको छ । कर्णाली प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) चौरजहारी नगरपालिका, रुकुमपश्चिम, उत्कृष्ट विद्यालयतर्फ चन्दननाथ नमुना मावि, खलङ्गा, जुम्ला र उत्कृष्ट प्रधानाध्यापकमा यामबहादुर श्रेष्ठ, जन नमुना मावि, वीरेन्द्रनगर, सुर्खेतलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) धनगढी उपमहानगरपालिका, कैलाली, उत्कृष्ट विद्यालयतर्फ महेन्द्र नमुना मावि दार्चुला र उत्कृष्ट प्रधानाध्यापकतर्फ शुभराज उपाध्याय, मालिका नमुना मावि, बाजुरालाई सम्मान गरिएको छ । 

सम्मेलनमा सहभागी विभिन्न राजनीतिक दलका नेताले विद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक स्तर उकास्न प्रधानाध्यापकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । पानका अध्यक्ष सुदमप्रसाद गौतमले विद्यालय तहको सामुदायिक विद्यालय मात्रै नभएर समग्र विद्यालय शिक्षाको गुणस्तर उकास्ने अभियानमा हातेमालो गर्न प्रधानाध्यापकहरू एकजुट भएर संस्था गठन गरिएको जानकारी दिनुभयो । सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ ।