• २४ असार २०८२, मङ्गलबार

‘केही दिनमै ट्रायल परीक्षा

blog

काठमाडौँ, जेठ २७ गते । निर्देशिकाविपरीत सञ्चालन भएका काठमाडौँ उपत्यकाका सवारीचालक प्रशिक्षण केन्द्र केही दिनमै सञ्चालनमा आउने भएका छन् । त्यस्ता ट्रायल सेन्टरको निर्माण निर्देशिका अनुसार भएपछि सञ्चालनमा आउने जनाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले ट्रायल सेन्टर निर्देशिका अनुसार सञ्चालन गर्न बागमती प्रदेश सरकार र उपत्यका ट्राफिक प्रहरीलाई पत्र पठाएपछि जेठ ३ देखि ट्रायल परीक्षा स्थगित थियो । 

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौलाले भन्नुभयो, “निर्देशिका अनुसार संरचना तयार भए पनि हामीले अनुगमन गरेर जेठ २३ गते सञ्चालन गर्नु भनी पत्र पठाएका छौँ । केही दिनमै परीक्षा सञ्चालन हुन्छ ।” यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले आगामी सोमबारसम्म ट्रायल सेन्टर सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सञ्चालन गर्नू भनी पत्र आएको छ । हामी सञ्चालनको तयारीमा छौँ । सूचना सार्वजनिक गर्नु पर्छ । ट्राफिक व्यवस्थापनलगायतका काम गरेपछि सोमबारसम्ममा सञ्चालन हुन सक्छ ।” 

सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका अनुसार केन्द्रका संरचना निर्माण नभएकाले अध्ययनका लागि स्थगित गरिएको थियो । सतर्कता केन्द्रका अनुसार निर्देशिकाविपरीत स्पिड ब्रेकर टेस्टमा मेटल प्लेट राखी स्लोप लामो बनाइएको छ । ट्राफिक लाइट टेस्ट निर्देशिकाविपरीत र बम्पिङ टेस्टमा टिसिसी प्लेट राखिएको छैन । त्यस्तै न्यारो प्लाङ्क टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्टलगायतका संरचना निर्देशिकाविपरीत सञ्चालनमा रहेका थिए ।

सतर्कता केन्द्रको पत्रलगत्तै श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले अध्ययन टोली बनाएको थियो । अध्ययनलगत्तै जेठ ६ गते मन्त्रालयले निर्देशिका अनुसार ट्रायल सेन्टरका संरचना निर्माण गर्न कम्पनीलाई पत्राचार गरेको थियो । निर्देशिका अनुसार संरचना तयार भएपछि सञ्चालनका लागि मन्त्रालयले यातायात कार्यालयलाई बुधबार पत्र पठाएको छ । 

सुजुकी ड्राइभिङ एकान्तकुना, ललितपुर, इजी वे ट्रायल सेन्टर, राधे राधे भक्तपुर, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर चाबहिल, काठमाडौँ र भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर गुर्जुधाराले निर्देशिका अनुसार संरचना निर्माण गरिएको जानकारी मन्त्रालयलाई गराएका थिए ।