गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २६ गते । लोकप्रिय संगीत उद्यमी सूर्यबहादुर मगरले अमेरिकाको दक्षिण डकोटस्थित ‘ब्रोकफिल्ड अन्तर्राष्ट्रिय विश्वविद्यालय’बाट मानार्थ पिएचडी सम्मान प्राप्त गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सो सम्मानसहितको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
‘सम्मान मनोनयन सल्लाहकार समितिको सिफारिसमा सिनेट र अमेरिकाको ब्रोकफिल्ड इन्टरनेशनल युनिभर्सिटीको कार्यकारी परिषद्ले सूर्यबहादुर मगरलाई उहाँको क्षेत्रमा गरेको उपलब्धि, योग्यता र उदाहरणीय सेवाको कदरस्वरुप सो अवार्ड प्रदान गरेको हो’ सिनेटका अध्यक्षद्वारा हस्ताक्षरित सूर्यलाई प्राप्त प्रमाणपत्रमा भनिएको छ, ‘संगीतको मानार्थ डक्टरेटलाई सम्मानित गर्दै र विश्वविद्यालयद्वारा प्रदान गरिएका सबै अधिकार, विशेषाधिकार र सम्मानको हकदार छ ।’
सूर्य क्रियशन प्रालिका प्रबन्ध निर्देशक रहनुभएका सूर्यले संगीत व्यवसायमा लागेको करिब दुई दशकको यो अवधिमा झण्डै पाँच हजार गीत तथा दुई हजार पाँचसय भिडियो उत्पादन गरिसक्नुभएको छ ।
रामेछाप साँस्कृतिक कला साहित्य समाजका संस्थापक अध्यक्ष, संगीत विकास बचत तथा ऋण सहकारी संस्थाको बोर्ड सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्का उपसभापति, संगीत तथा चलचित्र उत्पादक समाजको अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत, नेपाल संगीत उद्योग संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र मनोरञ्जन फोरमको उपसभापति, सूर्यचका फाउण्डेशनको कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) संयोजन समितिका सल्लाहकार, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय रोयल्टी अनुगमन उपसमितिको उपसंयोजक, नेपाल सांगीतिक संघको मानार्थ सदस्य समेत हुनुहुन्छ ।