• ११ पुस २०८१, बिहिबार

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धको जिम्मा निजी कम्पनीलाई दिन सकिन्छ : मन्त्री तामाङ

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङ । फाइल तस्बिर

काठमाडौँ, असोज २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने धारणा राख्नुभएको छ ।

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राख्नुभएको हो । “हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उहाँले भन्नुभयो । 

यसका लागि नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिनुभयो । यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरूलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले अब यसमा सरकारले काम गरिरहेको बताउनुभयो । रासस