राममणि दाहाल
हेटौँडा, जेठ २६ गते । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समृद्धि र विकासका लागि समाजवादी क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
नेकपा (एस) हेटौँडा उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको शनिबार हेटौँडामा उद्घाटन गर्दै नेता खनालले सो कुरा बताउनुभएको हो ।
पार्टीको आगामी महाधिवेशनबाट समाजवादी कार्यक्रम र कार्यभार बोकेको एकीकृत समाजवादी पार्टी पहिलो र बलियो पार्टीको रूपमा स्थापित हुने भन्दै समाजवादी क्रान्तिबिना अब नागरिकका सवालको सम्बोधन हुन नसक्ने बताउनुभयो ।
‘जनताको बहुदलीय जनवाद, पुँजीवाद सबैको समय सकियो, अब यो समाजवादी क्रान्तिको समय हो’ पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, “एकीकृत समाजवादी पार्टी समाजवादी कार्यक्रम अङ्गीकार गरेको पहिलो पार्टी हो । यसलाई हामीले अघि बढाउँछौँ ।”
आगामी २०८४ को निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्ने गरी तयारीमा जुट्नु पर्ने बताउँदै उहाँले पार्टीले जनताका जनजीविकाका सवालमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
उपमहानगर कमिटी अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देल, केन्द्रीय सदस्य एवं हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल लगायतले बोल्नुभएको थियो । अधिवेशनले ४५ सदस्यीय हेटौँडा उपमहानगर कमिटी चयन गर्नेछ ।