अमरराज नहर्की
तनहुँ, जेठ २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ मरेतरास्थित गौ संरक्षण केन्द्रको निरीक्षण गर्नुभएको छ ।
निरीक्षण गर्दै पाण्डेले केन्द्रलाई धार्मिक पर्यटकको गन्तव्य रूपमा विकास गर्नुपर्ने त्यसको लागि पूर्वाधारहरू निर्माण गर्न गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले शुक्लागण्डकी नगरपालिकाले केन्द्र सञ्चालनका लागि सबै प्रकारका सहयोग गर्नुपर्ने बताउनुभयो । सहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि शुक्लागण्डकी नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले छाडा गाई तथा गोरुको नियन्त्रणका लागि सुरुमा कान्जी हाउसको रूपमा १७९ रोपनी जमिनमा सञ्चालन गरिएको थियो ।
छाडा छोडिएका चौपायाले गर्दा राजमार्गमा सवारी दुर्घटना हुने, यातायात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । केन्द्र सञ्चालनमा ल्याइएपछि यहाँका स्थानीयले अहिले भने छाडा पशुचौपायाको समस्या भोग्नुपरेको छैन ।
यत्रतत्र छाडा छाडिएका, हेयका रूपमा लिइएका गाईको संरक्षण हुन थालेको छ । हालै निरीक्षण गर्नुभएका मुख्यमन्त्री पाण्डेसँगै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायत सहभागी हुनुभएको थियो ।