ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन ट्रेकिङ गाइड तालिम आयोजना गरिएको छ । मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रूपमा रहेको पर्यटकीय गाउँ नारच्याङमा १५ दिनसम्म तालिम सञ्चालन हुनेछ ।
गाउँपालिकाले पहिलो पटक ट्रेकिङ गाइडको तालिम सञ्चालन गरेको हो । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेपछि गाउँपालिकाले युवालाई ट्रेकिङ गाइड तालिम दिन थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षकले १५ दिनसम्म तालिममा सहजीकरण गर्ने सुवेदीले बताउनुभयो । एकसय ३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीलाई ट्रेकिङ गाइडको प्रमाणपत्र प्रदान गरिने छ ।
तालिम लिएका युवालाई पर्यटन मन्त्रालय र ट्रेकिङ एजेन्सीसँग समन्वय गरेर रोजगारीका लागि पहल गरिने पालिकाले जनाएको छ । तालिममा पालिका भित्रका ८ वटा वडाका २५ जना युवाको सहभागिता रहेको छ ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले तालिम पश्चात् गाउँपालिकामा ट्रेकिङ गाइडको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण पर्यटकीय पालिका भएकाले यहाँको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि गाइडको खाँचो छ उहाँले भन्नुभयो, ‘‘तालिम लिएका युवालाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी रोजगारी समेत दिलाउन पहल गर्दछ ।’’
पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महसुस गरी गाउँपालिकाले तालिम सञ्चालन गरेको उहाँको भनाइ छ ।
तालिममा पर्यटन सुरक्षा, जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या गर्ने शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षाबारे जानकारी गराइने छ । सो बारेमा माउन्टेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ ।