ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), जेठ २६ गते । साढे दुई दशकअघि ट्र्याक खुलेका सडक अहिले धमाधम कालोपत्रे हुन थालेका छन् । बागलुङ जिल्लाका ग्रामीण सडक कालोपत्रे हुन थालेपछि सर्वसाधारण खुसी भएका छन् । सङ्घीयता आएसँगै गाउँघरमा विकासको ढोका खुल्न थालेको स्थानीयको भनाइ छ ।
बागलुङको ताराखोला गाउँपालिका–१, माझखर्ककी ७५ वर्षीय गङ्गा रोका घर छेउको सडक कालोपत्रे भएर चिटिक्क बनेपछि धेरे खुसी हुनुभएको छ । उहाँ जस्तै माझखर्कका स्थानीयवासी खर्कबहादुर घर्तीमगर पनि खुसी हुँदै भन्नुहुन्छ, “२० वर्ष पहिला स्थानीयले कुटो, गैँची र कोदालोले खनेर सडकको ट्र्याक खोलेका थियौँ अहिले सङ्घीयता कार्यान्वयनसँगै सडक कालोपत्रे भएपछि हामी खुसी भएका छौँ ।” सडक कालोपत्रे भएसँगै जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला खण्डको रिजाल चोकदेखि ताराखोला गाउँपालिका–१, माझखर्कको बिसाउना डाँडासम्म १० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे भएको छ । सडक कालोपत्रे भएसँगै गाउँको मुहार फेरिएको छ । उहाँले भन्नुभयो, “यतिका वर्ष कालोपत्रे नभएको सडक यसपालि कालोपत्रे भएको छ । सडक कालोपत्रे भएसँगै धुलो र हिलोबाट मुक्ति पाएका छौँ । भाडादर घटेको छ । दैनिक उपभोग्य वस्तु सुलभ दरमा पाइन थालेको छ ।”
करिब १५ देखि २५ वर्षअघि ट्र्याक खोलेका बागलुङका पाँच ग्रामीण सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले चार वर्षअघि बहुवर्षीय ठेक्का लगाएर सडक निर्माण थालेको थियो । योजना अनुसार ढोरपाटन नगरपालिकाको बुर्तिबाङदेखि ढोरपाटन हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत ढोरपाटन नगरपालिका–६, दुवाडीखोलादेखि भाल्नेखोलासम्म १० किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो योजना अहिले अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्रे भएसँगै ग्रामीण विकट बस्तीको मुहार फेरिएको ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष उमेशकुमार बुढामगरले बताउनुभयो । गाडी खोलाका स्थानीय शिव थापाले घरआँगनको सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको बताउनुभयो ।
स्थानीय शिखर पुनले सडक कालोपत्रे भएसँगै धुलो र हिलोका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । सडक कालोपत्रे भएसँगै दुवाडी, पानीपोखरा, ओख्रेनी, कुलुङ, गाडीखोला, मराङ, छालहाल्ना, चामीद्वार र खानी गाउँका स्थानीय लाभान्वित भएका छन् । यो सडक हुँदै ढोरपाटन जान छोटो दुरी भएकाले सडक निर्माणलाई पूर्णता दिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत गलकोट नगरपालिका–५ र ६ मा करिब तीन किलोमिटर सडक कालोपत्रे गरिएको छ । १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अनुसार चालु आर्थिक वर्षमा छ किलोमिटरसम्म कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यस्तै जैमनी–बरेङ सडक योजनाको दोस्रो खण्ड अन्तर्गत जैमनी नगरपालिका–१० को देवलडाँडादेखि बरेङ गाउँपालिका–१ को नुनथलासम्मको ११ किलोमिटर दुरीको सडक कालोपत्रे गरिएको छ । योजना अन्तर्गत चार किलोमिटर आठ सय मिटर ढलान र छ किलोमिटर दुई सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्रे गरिएको छ ।
ट्र्याक खुलेको करिब २५ वर्षपछि उक्त सडक कालोपत्रे भएसँगै स्थानीय खुसी भएको बरेङ गाउँपालिका–१ का वडाध्यक्ष नरसेङ पुनले बताउनुभयो । यसै गरी बागलुङ नगरपालिका–४, कुडुले फेदीदेखि पञ्चकोट हुँदै काठेखोला जोड्ने १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चार वर्षअघि निर्माण थालिएका उक्त सडक चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो । जिल्लाभर चालु आवमा करिब ४५ किलोमिटर सडक कालोपत्रे भएको उहाँले बताउनुभयो ।