• १३ मंसिर २०८१, बिहिबार

जेठ ३१ गते फेवातालमा खुला डुङ्गा दौड

blog

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डुंगा दौडबारे आयोजना दिँदै संगठनका सचिव शिवरुद्र जिसी। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ २५ गते। अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको छर्लङ्गै प्रतिबिम्ब देखिने फेवातालमा डुंगा सयर गर्नेको भीड लाग्छ। तालमा डुंगा सयर मात्र होइन, छिटो डुंगा खियाउन सक्नेले पुरस्कार जित्ने अवसरसमेत आउँदै छ। 

फेवातालको डुंगा सयरसँगसँगै पर्यटन प्रवर्धन गर्न यहाँ जेठ ३१ गते खुला डुंगा दौड प्रतियोगिता आयोजना गरिएको छ। फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा  हुने प्रतियोगितामा पुरुषतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजारका साथमा प्रमाणपत्र पाउने छन्।

महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजारका साथमा प्रमाणपत्र दिइने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो। संगठनको ३० औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताका लागि साढे दुई लाख खर्च हुने अनुमान छ।

प्रतियोगितामा सहभागी हुन टिममा तीन जना हुनुपर्ने छ। पुरुषतर्फ दुई हजार एक सय मिटर र महिलातर्फ एक हजार पाँच सय मिटरमा दौड हुनेछ। प्रतियोगितामा ४० टिम सहभागी हुने अनुमान गरिएको छ।

संगठनका अध्यक्ष गिरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अब हरेक वर्ष स्थापना दिवसमा डुंगा दौड प्रतियोगिता गर्ने जानकारी दिनुभयो। “अब हरेक वर्ष डुंगा दौड आयोजना गर्छाैं,” उहाँ भन्नुहुन्छ, “यसबाट प्रवर्धन पनि हुने भयो, फेवाताल र डुंगा व्यवसायको प्रचारप्रचारमा पनि योगदान हुने भयो।” 

अहिले फेवातालका आठ वटा घाटमा सात सय ६७ वटा सञ्चालनमा छन्।