• ४ पुस २०८१, बिहिबार

४५ रोपनी जमिनमा पार्क र पोखरी

blog

ललितपुर, जेठ २५ गते । ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पुनर्निर्माण द्रुत गतिमा अघि बढेको छ ।

पोखरी पुनर्निर्माणको दोस्रो चरणअन्तर्गत पोखरी खन्ने काम धमाधम भइरहेको छ । पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी बार लगाइएको हो । तेस्रो चरणअन्तर्गत पोखरीको राजकुलोबाट पानी ल्याउने र कमलको फूल फुलाउने योजना रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

पोखरी पुनर्निर्माण गर्ने क्रममा भएका कामको निरीक्षण गर्ने क्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, ‘‘सहरको बिचमा बन्ने यो पोखरीले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ ।’’ तीन वटा पोखरीको क्षेत्रफल ४५ रोपनी हुनेछ । पोखरीसँगै पार्क बनाउने योजना महानगरले बनाएको छ । 

पोखरी पुनर्भरणका लागि टीकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजना अनुरुप काम भएको महानगरले बताएको छ । ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउनका चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्नका लागि सडक विभागले अनुमति दिइसकेको छ ।


लगनखेलस्थित नमुना मच्छिन्द्र स्कुलले पोखरीको ११२ नम्बर कित्ता जग्गा लामो समयदेखि प्रयोग गर्दै आइरहेको थियो । तर २०७६ सालमा सर्वोच्च अदालतले पोखरीको पक्ष निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

सर्वोच्चको अदालत फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो । महानगरका इन्जिनियर प्रदीप पौडेलले साढे दुई वर्षभित्र पोखरी सहितको पार्क निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले दोस्रो चरणअन्तर्गत पोखरी खन्ने  पोखरीको माटो परीक्षण गर्ने काम भइरहेको छ, पोखरीसँग बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौं ।’’