अनिल पराजुली
हेटौँडा, जेठ २५ गते । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताउनुभएको छ । मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश स्तरीय विपद प्रतिकार्यको कृत्रिम अभ्यास कार्यक्रमलाई हेटौँडाको औद्योगिक क्षेत्रमा सम्बोधन गर्नुहुँदै उहाँले विपद न्यूनीकरणका लागि जिल्लास्तरबाटै विपद सुरक्षा संस्कृतिको विकास गरिने जानकारी दिनुभयो ।
आर्थिक वर्ष ८१–८२ मा प्रदेशका १३ जिल्लाका १३ विद्यालय छनोट गरेर विद्यालय स्तरमा विद्यार्थीहरूलाई सुरक्षा संस्कृतिको बारेमा अध्यापन गराउने तयारी भएको उहाँको भनाइ छ । विपद न्यूनीकरण र व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँ, टोल र वडा वडासम्म विपद स्वयंसेवक परिचालन गरेको बताउनुभयो । गत आवमा प्रदेशका ११ पालिकामा स्वयंसेवक परिचालन गरिएकाले यस आवको बजेटमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । जनस्तरबाटै परिचालित हुने स्वयंसेवकबाट विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिने बताउँदै मन्त्री श्रेष्ठले रैथाने स्तरमा रहेको ज्ञान, सीप र अनुभावलाई प्रयोग गरेर विपद न्यूनीकरणमा लाग्न आग्रह गर्नुभयो ।
प्रदेशमा विपद न्यूनीकरणका लागि विपद सामग्री खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले मकवानपुरको हेटौँडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद सामग्री भण्डारण गरिएको जानकारी दिनुभयो ।
विपदको तीन चरण रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको चरण मध्य पूर्व तयारी राम्रोसँग गर्न सकिए विपदबाट क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो ।
विपद पूर्व तयारीको विषयमा आम नागरिकलाई पनि जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ । मानविय गतिविधिले प्राकृतिक विपद बढेको बताउँदै उहाँले विकासको नाममा विनाश धेरै भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद जोखिम न्यूनीकरण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएकाले सबैलाई पूर्व तयारीका साथ रहन आग्रह गर्नुभयो ।
मध्य पृतनापति प्रदीपजंग केसीले प्राकृतिक विपदलाइ रोक्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताउँदै स्थानीय र जनप्रतिनिधिको भूमिका अझै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विपदमा सेना सधैँ अग्रभागमा रहने स्पष्ट पार्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, रेडक्रस, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।