• २४ असार २०८२, मङ्गलबार

आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

blog

काठमाडौँ, जेठ २५ गते । एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा सञ्चालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबिच शुक्रबार समापन गर्नुभएको हो ।

प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रोफेसर डा.कुशुम शाक्यले कोर्षमा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायब उपरीक्षक मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ्गलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानिरीक्षक अर्यालले यस किसिमको शैक्षिक एवम् व्यावसायिक ज्ञानले सङ्गठनमा आवद्ध अधिकृतहरुको व्यावसायिक दक्षता अभिवृद्धि हुनुको साथै विद्यमान तथा नविनतम सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने योग्य कमाण्डर निर्माणमा समेत अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले सशस्त्र प्रहरी अधिकृतहरुले आफ्नो व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै साङ्गठनिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै साङ्गठनिक लक्ष्य प्राप्तीका सबै क्षेत्रहरुमा अझ बढी क्रियाशिल भई त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कोर्ष निरन्तर रुपमा सञ्चालन गर्न सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरुलाई सहज ढङ्गले परास्त गर्न शैक्षिक एवम् व्यावसायिक ज्ञानको उच्चतम प्रयोग गर्दै देश र संगठनको हितमा कार्य गर्न तथा अधिकृतहरुको क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।


६० हप्ता अवधिको सो कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक नौ र सशस्त्र प्रहरी नायव उपरीक्षक पाँच गरी १४ जना अधिकृतहरुको सहभागीता रहेको थियो ।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका पदाधिकारीहरु लगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।