बाग्मती, जेठ २५ गते । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु. ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।
आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको बाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।
आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताउनुभयो । आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ ।
बाग्मती सरकारले चालु आवका लागि रु. ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु. २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु. ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु. ५० करोड छ । रासस