तानसेन समाचारदाता
तानसेन, जेठ २५ गते । हाइब्रिड तथा उन्नत जातको धान लगाउने होडबाजीले रैथाने जातको धान लोप भएको छ । हाइब्रिड र उन्नत जातको धान धेरै फल्ने र कम पानीमा हुर्कने भएकाले परम्परादेखि लगाइएका धानका बिउ लोप भएको पाल्पाका किसानले बताएका छन् । पुरानो रैथाने जातको धान लगाउने किसान बिउमासमेत आत्मनिर्भर भएका छन् तर हाइब्रिड र उन्नत जातको धान खेतीले किसान धानको बिउमा परनिर्भर बन्न पुगेका छन् ।
केही वर्षअघिसम्म जिल्लाको विभिन्न स्थानमा रैथाने जातको मन्सुली, सावा मन्सुली, गाहा, आमझोत्ते, बासमती, अनदी र ताइचिन जातका धान लगाउने प्रचलन थियो ।
अहिले गाउँ गाउँमा हाइब्रिड र उन्नत जातको धान पुगेको छ । यसले हरेक वर्ष धानका बिउ किन्नुपर्ने बाध्यता सिर्जना गरेको माथागढी–३, कसेनीका किसान टीकाराम रानाले बताउनुभयो । पुरानो जातको धानको खेती गर्दा किसान आफैँले धान पाकेपछि बिउ छाँटेर राख्ने प्रचलन थियो । अहिले हाइब्रिड जातको धानबाट बिउ राख्ने अवस्था नहुँदा हरेक वर्ष बिउ किन्नुपरेको उहाँले बताउनुभयो । पछिल्लो समय हरेक वर्षजसो बजारमा विभिन्न थरीका धानका बिउ आउने गरेको किसान बताउँछन् । पहिलो वर्ष एकथरी, अर्को वर्ष अर्को जातको बिउ आउँछ, जानेर नजानेर पनि नयाँ जातको बिउ किनेर धान लगाउनुपर्ने अवस्था आएको किसानको दुःखेसो छ । हाइब्रिड र उन्नत जातको धानको बिउले उत्पादनमा वृद्धि गरे पनि रोग नियन्त्रण, बिउ खरिद तथा मलमा भएको लगानीले किसानलाई आर्थिक बोझ थपेको अर्का किसान खिन्तवीर चिदीले बताउनुभयो । पुरानो जातको धान लगाउँदा मल, बिउ तथा रोग नियन्त्रणमा लगानी कम लाग्ने गरेको उहाँको अनुभव छ ।
माडी, रामपुर, अर्गली, पूर्वखोला, झडेवा, कचल, गेझा फाँटमा धान खेती हुँदै आएको छ । एक दशकअघिसम्म पुरानै जातको धान खेती गरेका किसानले अहिले सबैजसो स्थानमा उन्नत र हाइब्रिड जातका धान खेती गर्न थालेका छन् । यसबाट उत्पादकत्व र उत्पादनमा सकारात्मक प्रभाव परे पनि बिउ, परनिर्भरता र औषधी उपचारमा परनिर्भरता थपेको किसानको भनाइ छ । पछिल्लो समय जिल्लास्थित कृषि ज्ञान केन्द्रले रैथाने जातको बिउ वितरण गरे पनि त्यसले खासै प्रभाव पार्न सकेको छैन । हाइब्रिड जातको धान लगाउने बानी बसेपछि पुरानो जातको धानमा आकर्षण हुन नसकेको केन्द्रका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो ।