काठमाडौँ, जेठ २५ गते । प्राकृतिक तथा मानव सिर्जित विपत्तिमा परेका व्यक्तिको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि राजनीतिक दलहरूले आआफ्ना दलीय संयन्त्र परिचालन गर्ने भएका छन् । गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफल’ मा विभिन्न राजनीतिक दलका नेताले केन्द्रदेखि स्थानीय तहसम्मका वडाहरूमै परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझावसमेत दिएका छन् ।
विसं २०७२ को भूकम्पका बेला दलका नेता तथा कार्यकर्तासमेत खोज र उद्धारमा स्वयंसेवीका रूपमा परिचालन गरिएको थियो । छलफलमा सहभागी दलका प्रतिनिधिहरूले राजनीतिक दलहरूले सो विपत्तिमा पु¥याएको योगदानबाट शिक्षा लिँदै यस्तो संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका हुन् । नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढङ्ग पु¥याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य एवं विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपत् व्यवस्थापनको स्रोतसाधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औँल्याउनुभयो । माओवादी केन्द्रका नेता सूर्य सुवेदीले सङ्घदेखि वडासम्म बनाइने ‘लुज फोरम’ ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सरकारबिच समन्वय गराउन भूमिका खेल्ने बताउनुभयो । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपत् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपत् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरूसँग छलफल गर्न सुझाव दिनुभयो । एकीकृत समाजवादीका नेता डा. गङ्गालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपत्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनुपर्नेमा जोड दिनुभयो ।
दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले राजनीतिक होस् वा प्राकृतिक विपत्तिमा एकजुट हुने नेपालका दलहरूको विगतको अभ्यास सकारात्मक रहेको बताउनुभयो । उहाँले जनसेवाको उद्देश्यले तल्लो तहसम्मको संयन्त्र र स्वयंसेवक परिचालनको अनुभवका आधारमा पनि विपत् व्यवस्थापनमा दलहरूको योगदान महत्वपूर्ण हुने अपेक्षा गर्नुभयो ।