काठमाडौँ, जेठ २५ गते । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने अभियान सुरु गरेको छ । महानगरवासीको गुनासो सुनुवाइ गर्न महानगरपालिकाले महानगरका प्रहरी घर घरमा पठाउने अभियान सुरु गरेको हो ।
नगरवासीको महानगरपालिकासँग विभिन्न गुनासो हुन सक्ने तर उक्त गुनासो महानगरपालिकाको कार्यालयसम्म नआएको हुन सक्ने भन्दै महानगरपालिकाले घर घरमा नगर प्रहरी खटाएर गुनासो सङ्कलन गर्न लागेको हो ।
बिहीबार उक्त अभियानको सुरुवात गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरीलाई घर घरमा पठाउने अभियान सुरु गरिएको बताउनुभयो । नगर प्रहरीले महानगरपालिकाका सेवा नगरवासीले लिए/नलिएको बुझ्ने, निःशुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने छन् । नागरिकले कर तिरे/नतिरेको बुझ्ने, महानगरको सेवाको पहुँचको अवस्थाबारे जानकारी लिने काम प्रहरीले गर्ने महर्जनले स्पष्ट पार्नुभयो ।