• १२ मंसिर २०८१, बुधबार

हेटौँडा सिमेन्ट उद्योग अध्यक्षमा भण्डारी

blog

नव नियुक्त अध्यक्ष नरेन्द्र भण्डारी । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ २४ गते । मकवानपुरको हेटौँडा –९ लामसुरेमा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका युवा व्यवसायी नरेन्द्र भण्डारीलाई सरकारले नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिमेन्ट उद्योगको अध्यक्षमा उहाँलाई नियुक्त गर्ने निर्णय गरेको हो । हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा भण्डारी नियुक्त हुनुभएको छ । 

उद्योगको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि २०८१ वैशाख ३१ गते आव्हान गरिएको सार्वजनिक सूचनाअनुसार स्वीकृत उम्मेदवारमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ अनुसार उद्योगको अध्यक्ष पदमा नियुक्तिका लागि मन्त्रालयमा सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिसको आधारमा नियुक्ती गरिएको हो । 

२०८१ जेठ १३ को निर्णयानुसार सवैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवार भण्डारीलाई सिफारिस गरेको थियो । उद्योगको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छनोट समितिले अन्तर्वार्ताका लागि सञ्जिवकुमार देव, नरेन्द्र भण्डारी र कृष्ण भद्र अर्याललाई सिफारिस गरेको थियो । 

विगत ५ वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगले अवकाश प्राप्त कर्मचारीको उपदान वापतको रकम भुक्तानी गर्न अझैं बाँकी रहेको छ । कर्मचारीले उद्योगमा निरन्तर धर्ना दिइरहेका छन् । उद्योगको अवस्था नाजुक रहेकाले नवनियुक्त अध्यक्षका लागि अहिलेको अवस्था चुनौतीपूर्ण रहेको छ ।