बाबुराम शर्मा
दोलखा, जेठ २४ गते । नेपालको साइकल यात्रा गरिसक्नुभएका दोलखाको कालिन्चोक गाउँपालिका-३ लामिडाँडा पोखरेका २२ वर्षीय अभिनय कार्कीले विश्व साइकल यात्रा प्रारम्भ गर्नुभएको छ ।
बिहीबार सदरमुकाम चरिकोटमा शुभकामनासहित विश्व साइकल यात्राका लागि उहाँलाई बिदाइ गरिएको छ । उहाँले भन्नुभयो, विश्वमा परेको जलवायुको असरलाई न्यूनीकरण गर्न सेभ द इनभाइरनमेन्ट अभियान लिएर यो यात्रा प्रारम्भ गरिएको हो । काठमाडौँबाट थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, कम्बोडिया, लाओस्, भियतनाम, चाइना, हङकङपछि खाडीको र अफ्रिकाको साइकल यात्रा गरिने लक्ष्य राखेको छु । यसरी खादा लगाएर सम्मान गर्नुभएपछि विश्व साइकल यात्रा गर्न साहस मिलेको छ ।
उहाँले ०७८ सालमा दुई महिना लगाएर मेची–महाकाली साइकल यात्रा सम्पन्न गरिसक्नु भएको छ । २०७९ सालमा ७७ वटै जिल्लाको सय दिने साइकल यात्राको सम्पन्न गर्नु भएको छ । २०८० सालमा यहाँको कालिन्चोक भगवतीको मन्दिरदेखि इलामसम्म साइकल यात्रा पनि सम्पन्न गर्नुभएको छ ।
'फ्रस्ट्रेसन डिप्रेसन र लागु औषधी दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एक जुट बनौँ' भन्ने मुख्य नारालाई सन्देशका रूपमा फैलाउन सय दिने साइकल यात्रा सम्पन्न गर्नुभएको हो ।
कुमार कार्की र तारादेवी कार्कीका सुपुत्र सानैदेखि मनोरञ्जनात्मकभन्दा साहसी चलचित्र तथा युट्युब हेर्नु हुने कार्की विश्व साइकल यात्री पुष्कर शाहलगायतका जीवनीबाट प्रभावित भएर देशबाट के पाउँछु होइन देशलाई के दिन सक्छु भन्ने चिन्तनमा मग्न हुने गर्नु हुन्थ्यो । उहाँले भन्नुभयो, हुन त यो काम निकै चुनौतीपूर्ण रह्यो । तर ती चुनौतीलाई परास्त गर्ने बलियो साहस लिएर यात्रामा अगाडि बढेको थिएँ । मेरो साहसबाट प्रभावित हुनु हुने केही दाताहरूले सहयोगको हात अगाडि बढाइरहनु भएको छ ।