अमरराज नहर्की
तनहुँ, जेठ २४ गते। गण्डकी प्रदेश सरकारले तनहुँमा औद्योगिक क्षेत्र बनाउने कार्य अघि बढाएको छ। शुक्लागण्डकी नगरपालिका–९ घारी, मरेतरामा बनाउने भएको हो। सङ्घीय सरकारले मुलुकका सबै प्रदेशमा कम्तीमा एक एक औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरे बमोजिम सो ठाउँमा प्रस्तावित औद्योगिक क्षेत्रको अघि बढाइएको छ।
प्रस्तावित औद्योगिक क्षेत्रको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रस्तावित क्षेत्रमै पुगेर बुधबार निरीक्षण गर्नुभएको छ।
औद्योगिक क्षेत्रको लागि जग्गा धेरै आवश्यक पर्ने भएकोले सार्वजनिक जग्गाको संरक्षण गर्न शुक्लागण्डकी नगरपालिकालाई मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो।
रोजगारी सिर्जना, गरिबी निवारणका साथै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्न टेवा पुग्ने हुँदा औद्योगिक क्षेत्र निर्माणको काम छिटो पुरा हुने गरी अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितका अनुसार घारीमा दुई हजार पाँच सय रोपनी सार्वजनिक जमिन भएकोले सातै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने सङ्घ सरकारको योजना अनुसार काम अघि बढेको छ।
रोजगारीका अवसर सिर्जना गर्न, स्थानीय उत्पादनको वृद्धि गर्न, उपभोक्ता र उत्पादकहरूलाई जोड्न औद्योगिक क्षेत्रले योगदान पुग्ने नगर प्रमुख पण्डित बताउनुहुन्छ।
शुक्लागण्डकी पोखरासँग जोडिएकाले दुवै ठाउँको विकासमा यो औद्योगिक क्षेत्रले योगदान पुग्ने र भूगोल तथा सडक सञ्जालका दृष्टिले पनि औद्योगिक क्षेत्र उपयुक्त ठाउँमा रहेको पण्डितले जानकारी दिनुभयो ।
प्रस्तावित औद्योगिक क्षेत्रको मुख्यमन्त्री पाण्डेसँगै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निरीक्षण गर्नुभएको थियो।