काठमाडौँ, जेठ २४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रूपमा छलफल गर्नुभएको हो । छलफलका क्रममा उहाँले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरेको बताउनुभयो । उहाँले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमा संसद्को समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताउनुभयो । उहाँले छिट्टै नै छलफललाई टुङ्ग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुर्याउने गरी काममा जुटेको बताउनुभयो ।
‘‘हामी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ । संसद्को समितिमा यस विषयमा छलफल हुने क्रममा माननीयज्युहरुको बिचमा जति विषयमा जति मन्त्रालयका संशोधनहरूमा सहमति जुट्यो त्यो सहमतिबाट नै अघि बढिसकेको अवस्था छ । जुन-जुन मन्त्रालयको सम्बन्धित विधेयकमा सहमति जुट्न सकेको अवस्था छैन, त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिवज्यू, मन्त्रीज्यूहरू र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ ।,’’ मन्त्री गिरीले भन्नुभयो, ‘‘त्यसमा कुन कुन मन्त्रालयले परेका संशोधनहरूमा बर्न गर्ने वा नगर्ने भन्नेबारेमा छलफल चलिरहेको छ । १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमा संसद्को समितिमा सहमति जुटी नसकेको हुनाले १० वटा मन्त्रालयका मन्त्रीज्युहरु र पदाधिकारीहरूसँग छलफलमा छौँ । छिटै नै यो छलफललाई टुङ्ग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुर्याउने गरी काममा जुटेका छौँ ।’’
मन्त्री गिरीले सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गरेको बताउनुभयो । मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्ति बस्नेतसँग छलफल गर्नुभएको हो । आज नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने बताउनुभयो ।