अनिल पराजुली
हेटौँडा, जेठ २४ गते । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विकास निर्माणका विषयमा साझा सङ्कलप गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उहाँले साझ योजना बनाएर अगाडि बढे जिल्लाको विकास गर्न सकिने बताउनुभएको हो ।
प्रसङ्ग जोड्दै उहाँले मकवानपुरको भीमफेदी सुरूङ मार्ग निर्माणकाे नाममा पूर्वाधार कम्पनीले जनताको पैसा लिएर फरार भएको स्मरण गराउँदै भीमफेदी कुलेखानी सुरूङ मार्ग निमार्णका लागि जिल्लाका सबै एक भए मात्रै सम्भव हुने बताउनुभयो । उहाँले मकवानपुरको उत्तरी क्षेत्र दामन, पालुङ, चित्लाङमा पर्यटन प्रवर्द्धन गर्न पर्यटनको केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटनको विकास गर्नसके रोजगारी सिर्जना हुने विश्वास गर्नुभयो ।
हेटौंडामा बन्द रहेको रोपवेको सदुपयोग गर्नपर्नेमा जोड दिँदै साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मनहरी-थाहा जोड्ने रूपचन्द्र बिष्ट राजमार्ग बनाउन सबैको साझा धारणा आवश्यक रहेको बताउनुभयो । हेटौंडा औद्योगिक नगरी भए पनि एकपछि अर्को उघोगधन्दा बन्द भएकोमा चिन्ता व्यक्त गर्दै हेटौंडा औद्योगिक क्षेत्रमा पहुँचवालाले जग्गा कब्जा गरेर उद्योग नचलाएको बताउनुभयो । उहाँले विकास निर्माणको क्षेत्रमा सबै दल र स्थानीय तहले साझा योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । हेटौंडाको सडक विस्तारको बिषयमा बोल्दै प्रदेशको राजधानी फराकिलो हुनुपर्ने बताउँदै बाटो फराकिलो गर्दा कसैलाई पनि आकाशमुनिको वास बनाउन नहुने स्पष्ट पार्नुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राजस्व वृद्वि गर्न र प्राकृतिक स्रोतहरूको सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्थानीय तहलाई बलियो बनाउँदै लानुपर्ने बताउँदै सङ्घ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताउनुभयो । उहाँले नदीजन्य बस्तुको उत्खनन गरेर राजस्व सङ्कलनमा कानुनी अप्ठ्यारो भएको गुनासो गर्नुभयो । प्राकृतिक स्रोत साधन स्थानीय तहले उपयोग गर्न नपाउँदा राजस्व गुमेको उहाँको भनाइ छ । उहाँले हेटौंडामा २५ मिटर सडक विस्तारको विषय पनि अन्याेलमा रहेकाले सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिक स्रोतको अधिक दोहन भएकोमा चिन्ता व्यक्त गर्नुभयो । भावी पुस्ताका लागि पनि सोचेर प्राकृतिक िस्तुको संरक्षण गर्नुपर्नेमा जोड दिँदै अधिक प्राकृतिक दोहनले बाढी, पहिरो निम्त्याएकाले त्यसतर्फ सबै सजक रहनुपर्नेमा जोड दिनुभयो । उहाँले मनसुनजन्य विपद् आउँदै गरेकाले जोखिम न्यूनीकरणाका लागि स्थानीय तहलाई आग्रह गर्नुभयो ।
प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा ६ अर्व २५ करोड कुल निकास गरेको बताउनुभयो । चालू खर्च तर्फ ३ अर्ब ३७ करोड र पुँजीगत २ अर्ब ८८ करोड खर्च भएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लागत प्रगति विवरण पेश गरिएको थियोे । उप प्रमुख सानुकाजी लुइँटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईंले सञ्चालन गर्नुभएको थियोे ।