• १२ मंसिर २०८१, बुधबार

वन्यजन्तुबाट छ वर्षमा २३१ जनाको मृत्यु

blog

काठमाडौँ, जेठ २४ गते । मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा जङ्गली जनावरबाट हुने मानवीय क्षति बढ्दै गएको छ । जङ्गली जनावरको सङ्ख्या बढ्दै जाँदा आहार नपाएपछि मानवसँगै भौतिक क्षति हुने गरेको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गानाले विगत छ वर्षको अवधिमा ६५३ जना घाइते हुनुका साथै २३१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ सालको वैशाखसम्म मात्रै ३१ जनाको ज्यान गइसकेको उहाँले बताउनुभयो । जसमा सबैभन्दा बढी मानवीय क्षति गर्नेमा बाघ, हात्ती र गैँडा छन् । मानव–वन्यजन्तु द्वन्द्वका विषयमा गहिरो खोज अनुसन्धान नहुँदा मानवीयसँगै अन्य धेरै क्षति बेहोर्नु परेको उहाँले जिकिर गर्नुभयो । 

“मानव–वन्यजन्तु द्वन्द्व किन बढिरहेको छ भन्नेबारे राम्रोसँग खोज अनुसन्धान भएको छैन । जङ्गलको क्षेत्रफलबमोजिम जनवार के कति बस्न सक्छन् भन्नेबारे अध्ययन गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “राज्यस्तरबाटै अध्ययन भएमा मानवको सुरक्षा र जनावरको व्यवस्थापन सहज हुन्थ्यो । त्यसमा कसैको ध्यान छैन ।” मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नहुँदा मानव र जनावर दुवैतिर क्षति हुने गरेको छ । 

वन्यजन्तुले पु¥याएको क्षतिको रकम राज्यले पीडितलाई दिने भएकाले त्यसको रकमसमेत बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल १३ करोड ५४ लाख रुपियाँ वन्यजन्तुबाट हुने क्षतिबापत तिर्नु परेको महानिर्देशक ढुङ्गानाले बताउनुभयो । सरकारले मृत्यु भएका प्रतिव्यक्ति परिवार १० लाख रुपिँया दिँदै आएको छ । अपाङ्गता, घाइते र बालीनाली, पशुधन र घरमा क्षति गरेको अवस्थामा पनि अवस्था हेरी क्षतिपूर्ति दिने गरिएको छ ।

“पछिल्लो समय सबैभन्दा बढी क्षति गर्ने बाघ र गैँडा हो । गैँडाले उति सारो क्षति गर्दैन,” उहाँले भन्नुभयो, “अर्को पूर्वी र मध्य नेपालमा हात्तीले मानवीय क्षतिसँगै खेतीपातीमा क्षति गर्छ । त्यो पनि नेपालको नभएर भारतबाट आउने हात्तीबाट  ।”

छ वर्षको अवधिमा गरेको क्षतिको विवरण

जङ्गली जनावरबाट हुने मानवीय क्षति हरेक वर्ष बढ्दै गएको छ । त्यसै गरी राज्यले दिने क्षतिपूर्तिको रकमसमेत बढ्दा राज्यलाई व्ययभार थपिएको छ ।