काठमाडौँ, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर ५ को नागार्जुन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिनुभयो । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, वासुदेव लामा, इन्द्रमान महर्जन, सानुकाजी प्रजापति, श्याम ढुङ्गाना, तारकेश्वर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामालगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो ।
यस्तै, स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै भट्टले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राख्नुभयो ।