• १४ मंसिर २०८१, शुक्रबार

योजनाको भुक्तानी गर्न प्रदेश सरकारसँग गाउँपालिका महासङ्घको माग

blog

गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिद्वारा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई बजेटका सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाउँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ २३ गते । 
अनुदान कटौतीपछि स्थानीय तहहरू समस्यामा परेपछि गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले प्रदेश अनुदानमा सञ्चालित योजनाको रकम भुक्तानी गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।

महासङ्घले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने अनुदान रकम कटौती हुँदा स्थानीय सरकारमाथि विकास योजनाको भुक्तानी गर्नुपर्ने दायित्व बढेकोले योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको हो ।

महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनुदानमा सञ्चालित योजनाको रकम भुक्तानीका लागि व्यवस्था गर्न माग गरेको जनाएको छ ।

बागमती प्रदेशका सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न र गाउँ कार्यपालिकाले निर्णय गरी पठाएका योजनालाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्राथमिकतामा राख्न महासङ्घले भनेको छ ।

महासङ्घका केन्द्रीय सदस्य लोकबहादुर मुक्तान, बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, सचिव कान्छालाल जिम्बा र विभिन्न गाउँपालिका अध्यक्षहरूसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै टुक्रे बजेटलाई निरुत्साहित गर्न प्रदेश सरकारसमक्ष आग्रह गरेका छन् ।

उता मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, प्रमुख सचिव कार्कीलगायतले गाउँपालिका महासङ्घले उठाएका नीतिगत र व्यवहारिक समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।