• १२ साउन २०८१, शनिबार

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर । फाइल तस्बिर

काठमाडौँ, जेठ २३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँको माइतीघर मण्डलामा १४ दिनदेखि धर्ना बसेका अभियन्ताको मागका सम्बन्धमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको हो । 

अभियन्ता चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरी यहाँ पुगेर १४ दिनदेखि धर्नामा बसिरहेका छन् । चुरे विनाशले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भन्दै यसले वातावरणमा प्रतिकूल असर गरिरहेको नेता महरको भनाइ छ । “चुरे बचाऊ:हामीलाई पानी देऊ सरकार’’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो । 

पानी नपाएसम्म हामी फर्किनौ, बरु यतै मर्छौ भनेर जनता सडकमा छटपटाइ रहेका छन् । राज्यलाई बिझेको छैन ?”, उहाँले प्रश्न गर्नुभयो । चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले बेवास्ता गर्न नहुने नेता महरले बताउनुभयो । “चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो । 

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति नेता महरले चिन्ता व्यक्त गर्नुभयो । जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फडानी र अतिक्रमण रोक्नुपर्ने उहाँको सुझाव छ । रासस