गुणबहादुर रोका
सुलीकोट, जेठ २३ गते । गोरखाको गण्डकी गाउँपालिका – १ दर्बुङ फाँटदेखि लाकुरीबोट दलभञ्ज्याङ हुदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङसम्म पुग्ने वैकल्पिक सडक कालोपत्र हुने भएको छ । गण्डकी गाउँपालिकाको मुख्य तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको दर्बुङ फाँटदेखि झण्डै १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।
विसं. २०६५ सालमा दर्बुङ गाउँ विकास समितिले ट्रयाक मार्ग खोले पनि १६ वर्षपछि सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको गोरखा सडक योजना कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले जानकारी दिनुभयो ।
सडक कालोपत्रे हुने भएपछि दर्बुङ फाँटका स्थानियहरुलाई महँगाे ढुबानी तिरेर तरकारी बेच्नुपर्ने अवस्था अन्त्य भएको गाउँपालिकाका अध्यक्षको भनाइ छ । कृषि क्षेत्रको पकेट मानिएको स्थानमा कालोपत्रे भएपछि स्थानीयहरु खुशी भएका छन् ।
गण्डकी गाउँवासीलाई पृथ्वी राजमार्गको मुख्य सडकसम्म पहँच पुग्ने भएको छ । धेरै समयको प्रयासपछि अहिले आएर कालोपत्रे हुन लागेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सना साकारले बताउनुभयो । गण्डकी गाउँपालिकाको विशेष पहलमा सङ्घीय सरकारको बजेटबाट गोरखा सडक योजना कार्यालय गोरखामार्फत कालोपत्रे गर्न लागिएको हो ।
सडक कालोपत्रे योजनाका लागि रायमाझी नवकान्तिपुर जेभी कम्पनीसँग २०७९ साल असार १० गते सम्झौता भएर काम अघि बढेको गोरखा सडक योजना कार्यालय गोरखका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । २०८१ साल असार २० गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम लगभग अन्तिम अवस्थामा पुगेको साथै समय सीमाभित्र रहेर काम सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पु–याएको उहाँको भनाइ छ ।
विषेश गरी गण्डकी गाउँपालिकावासी तथा दर्बुङवासीलाई फिस्लिङसम्म पुग्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपूर्ण यात्रा गर्दै आएकोमा दर्बुङवासीहरुमा कालोपत्रे हुने भएपछि खुशी मिलेको छ । सडक कालोपत्रे भएपछि फिस्लिङसम्म पुग्न जम्मा १५ मिनेटमा पुगिने भएको छ ।
उहाँका अनुसार यस सडकले बेनिघाटदेखि फिस्लिङसम्म पृथ्वी राजमार्ग बन्द भए पनि यही बाटो प्रयोग मिल्ने भएको छ । नजिकै रहेको आरुघाट गाउँपालिका, भीमसेन गाउँपालिकामा र गण्डकी गाउँपालिकाबाट गोरखा सदरमुकामसम्म यात्रा गर्न सकिने भएकाले यस सडकको निकै महत्त्व रहेको छ ।
गोरखा सडक योजना कार्यालय गोरखाको २८ करोड ४९ लाख दुई हजार एक सय ७४ रुपियाँमा गोरखा सडक योजना कार्यालय गोरखा र निर्माण कम्पनीबिच १० किलोमिटर सडक कालोपत्रे र एक साइडमा पक्की नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ७ मिटर चौडाइ र सबग्रेड सबबेस, बेस फाइनल भएकाले समय सीमाभित्र नै कालोपत्रे सम्पन्न हुने विश्वास लिएको गोरखा सडक योजनाका इन्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो ।